सम्पादकीय

अब रोबोटबाटै खोज–अनुसन्धान



काठमाडौं, १५ भदौ । जीबीएस (गणेश विक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ ।  विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न वस्तुस्थितिका बारेमा जानकारी दिन सक्ने सो रोवोट प्रदान गरेको हो ।

करीव दुई सय मिटर दूरीसम्म वायरलेस अपरेट गर्न सकिने सो रोवोटको प्रयोगले विपदस्थल, घटनास्थल र संकास्पद वस्तुस्थितिको बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने बताइएको छ । क्यामरा जडित सो रोवोट करिब तीन किलो तौलको रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सो ग्रुपका इन्जिनियर गणेशविक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले सो रोवोट हस्तान्तरण गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा विपद लगायतका घटनामा खोजी तथा उद्धार कार्यमा यस्ता उपकरण उपयोगी रहने उल्लेख गर्दै सो रोवोटको प्रयोगबाट सशस्त्र प्रहरी बल नेपालको व्यावसायिक कामकारवाहीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले उद्धार तथा मानवीय सेवा र सुरक्षा कार्यमा समेत यस किसिमको प्रविधि सहायकसिद्ध रहने विश्वास व्यक्त गर्दै संगठनले सो रोवोटलाई सिर्जनात्मक ढंगबाट निरन्तर रुपमा प्रयोगमा ल्याइ नागरिकको सेवामा योगदान पुर्रयाइरहने उल्लेख गरे । राजधानीमा समाचार छ ।