Banner News

ओलीले भने–एमालेसँग एक्लै लड्ने क्षमता नभएपछि अरु दल मोर्चाबन्दी लागेका हुन्



काठमाडौँ, १७ भदौ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं २ मा तिनै तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

स्थानीय तहअन्तर्गत प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एमालेले जित्नुपर्ने बताए।

नेकपा एमाले ले प्रदेश नं २ मा बहुमत ल्याएर प्रदेश सरकार बनाउनुपर्छ,–अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले नेकपा एमाले का बारेमा प्रदेश नं २ मा झुट फैलाएको भन्दै त्यसलाई सामना गरेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे । उनले एमालेसँग अरु दल एक्लै निर्वाचन लड्ने क्षमता नभएका कारण मोर्चाबन्दी गरेको आरोप समेत लगाए ।

नेकपा एमाले का नेता माधवकुमार नेपालले एमाले मधेसी समुदायको शत्रु नभई मित्र भएकाले आगामी निर्वाचन एमालेले जित्ने दाबी गरे । उनले पार्टीले टिकट दिएको आधिकारिक उम्मेद्वारलाई निर्वाचन जिताउन सबै लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले तिनै तहको निर्वाचनमा एमालेलाई जिताउनसके मात्र मुलुक विकासको बाटोमा अगाडि बढ्न सक्ने दाबी गरे ।

महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि खटिने पार्टीका नेता तथा कार्यकर्ताले विस्तृत कार्ययोजना बनाएर निर्वाचन क्षेत्रमा खटिन आग्रह गरे ।

निर्वाचनको प्रचारप्रसारमा कति व्यक्ति जाने, कुन कुन जिल्लामा जाने, कुन साधनमा जाने भन्नेबारे पार्टीलाई योजना बुझाएर मात्र जानुहोला–महासचिव पोखरेलले भने ।

उनले विपक्षी दलले एमाले संविधान कार्यान्वयनको विरोधी भनेर लगाएको आरोपको खण्डन गर्दै जनताको आवश्यकतालाई हेरेर संविधान कार्यान्वयनमा सहयोग गर्ने बताए ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालगायतले आफ्नो मतलाई सुरक्षित गर्दै अरु दलका कार्यकर्तालाई आफ्नो विचारले आकर्षण गरेर पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।

एमाले काठमाडौँ–प्रदेश नं २ सम्पर्क मञ्चले निर्वाचनलाई लक्षित गरी मूल्याङ्कन, आर्थिक, यातायात र प्रचारप्रसार उपसमितिसमेत गठन गरेको छ ।