सम्पादकीय

अवैध प्रेस मेसिन खरिद प्रकरणः भन्सार विभागले थाल्यो अनुसन्धान



काठमाडौं, २५ भदौ । मुलुकका भन्सार कार्यालयबाट कर्मचारीको मिलेमतोमा नेपाल भित्रिने पाँच वर्षभन्दा बढी पुराना मेसिनरी सामानको अनुसन्धान सुरु भएको छ । भन्सार विभागले नेपाल भित्रिने पुराना मेसिनरी सामानमध्ये प्रेस मेसिन धेरै आयात हुने गरेको समाचार आएपछि त्यसको छानबिन थालेको हो ।

‘नेपालमा भित्रिने मेसिनरी सामानहरू सेकेन्ड ह्यान्ड आयात अत्यधिक भएपछि सरकारले गत वर्षदेखि पाँच वर्षभन्दा पुराना मेसिनरी सामान ल्याउन रोक लगाएको थियो,’ भन्सार विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले राजधानीसँग भने, ‘तर गत वर्ष सुरुदेखि नै धेरै पुराना प्रेस मेसिनहरू अवैधानिक रूपमा आयात भएको खबरले विभागको ध्यानाकर्षण भएको छ ।

’ उनका अनुसार विभागले भन्सार कार्यालयमा परिपत्र गरेर पुराना मेसिनरी सामानको पहिलो पटक खरिद गर्दाको बिल भर्पाइको अध्ययन गरेर मात्रै भित्र्याउन परिपत्र गरेको छ ।

गत वर्षदेखि सुरु भएको नियमविपरीत आयात भएको मेसिनहरूको सम्बन्धित कम्पनी तथा आयातकर्तासँग समेत अनुसन्धान गरिने उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षदेखि सुरु भएको पाँच वर्षभन्दा बढी पुराना प्रेस मेसिन आएको विषयमा सबै काजगपत्र विभागमा पेस गर्न सबै भन्सार कार्यालयलाई परिपत्र गरिएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

विभागका महानिर्देशक मुलुकबाहिर भएकाले प्राप्त कागजपत्र महानिर्देशक आएपछि निर्णय गरी सम्बन्धित भन्सार अधिकृतलाई कारबाही हुने विभागले जानकारी दिएको छ ।विभागले माग गरेको गत वर्षदेखिका सबै मेसिनरी सामानको आयात विवरण पेस गर्न विभागले परिपत्र गरिसकेको छ ।

श्रीगणेश प्रिन्टिङ प्रेस काठमाडौंले एडास्ट डोमिनान्ट–७१५ मोडेलको अफसेट प्रेस सिर्सिया पर्सा (सुक्खा बन्दरगाह) भन्सारबाट १२ भदौ २०७३ मा भित्र्याएको भेटिएको थियो । सो प्रेस मेसिन उत्पादन गर्ने एडास्ट डोमिनान्ट, चेजले सन् १८९७ देखि १९९८ सम्म मात्रै मेसिन उत्पादन गरेको पाइएको छ । राजधानीमा समाचार छ ।