शैक्षिक

सूर्यविनायक नगरपालिका अब कटुन्जेमाः कर्मचारीहरुको जिम्मेवारी हेरफेर



भक्तपुर,२९ भदौ । सूर्यविनायक नगरपालिका असोज १ गते बाट कटुन्जेको टंक प्रसाद स्मुति प्रतिष्ठानमा सर्ने भएको छ । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले नगरपालिका र अन्र्तगतका वडा कार्यालयहरुमा अस्थायी,करार र विषय विज्ञको रुपमा कार्यरत रहनु भएका ३४ जना कर्मचारीहरु मध्ये लेखनाथ सुवेदी र बद्री सिख्वाललाई श्रावन १ गतेदेखि नै लागू हुने गरी करारको म्याद नथप्ने र अन्यको हकमा श्रावन १ गतेदेखि पौष मसान्त सम्म ६ महिनाको लागि म्याद थप गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले कर्मचारीको जिम्मेवारी हेरफेर समेत गरेको छ । जसअनुसार नक्शा पासको काम हेर्दै आएका रमेश फाजुलाई फोहरमैला व्यवस्थापन शाखामा र उनको ठाउँमा ईन्जिनियर प्रविण कार्कीलाई लगिएको छ । त्यसरी नै बैठकले नगरपालिकाको प्रवक्तामा उपेन्द्र केसीलाई तोकेको छ ।

नगरपालिकाको सेवालाई चुस्तदुरुस्त पार्न नगरपालिका र वडा अन्तर्गतका वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई नगर प्रमुख र सम्बन्धित समितिका संयोजकको स्वीकृती लिएर कमृचारी सरुवा गर्ने अख्तियारी प्रशासन शाखालाई प्रदान गर्ने निर्णय समेत गरेको बुझिएको छ ।