Banner News

७३ प्रतिशत मत खस्योः आज रातीबाटै मतगणना शूरु , पाँच दिनमै नतिजा सार्वजनिक हुने



काठमाडौ,२ असोज। निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
सोमबार साँझ निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर मूख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भन्नुभयो, ‘उत्साहजनक सहभागितामा ७३ प्रतिशत मतदान भएको छ । हामी पाँच दिनभित्र नतिजा सार्वजनिक गर्छौँ ।’

प्रमुख आयुक्त यादवले यो निर्वाचनमा दलित र महिलाको उत्साहजनक सहभागिता भएको भन्दै यसले लोकतन्त्रलाई अझै बलियो बनाउने बताउनुभयो ।

‘मतपेटिका संकलन गर्ने काम भइहेको छ, आजै राति वा भोलि बिहानबाट मतगणना सुरु हुनेछ’, यादवले भन्नुभयो, ‘हामी पाँच दिन भित्रै सार्वजनिक गर्ने तयारीमा छौँ ।’

यादवले निर्वाचनका क्रममा नक्कली मत हाल्न खोज्ने ३८ जनालाई पक्राउ गरिएको बताउनुभयो । त्यसैगरी कानुन तोडेको अभियोगमा १० जनालाई पक्राउ गरिएको पनि यादवले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ८ वटा जिल्लाका १३६ वटै स्थानीय तहमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो । कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएनु, उहाँले भन्नुभयो, हामीले सोचेको भन्दा शान्तिपूर्णरूपमा मतदाताको उत्साहजनक सहभागितमा निर्वाचन सम्पन्न भएको छ ।