शैक्षिक

बोलेरो दुर्घटनामा ६ को मृत्यु



धुलिखेल, १० असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । उहाँका अनुसार गाडीमा १७ जना सवार थिए । घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ थापाले भने ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।