Banner News

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्ण सहभागी जनाउनुः राष्ट्रपति भण्डारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गनुभयो ।

विभिन्न जातजाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले महान पर्व वडादशैंले हिमाल–पहाड–तराई–मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं क्षेत्र–क्षेत्र, जातजाति र समुदाय—समुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्नुभएको छ ।

आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ उहाँले वडादशैको शुभकामना व्यक्त गर्नुभएको छ ।