सम्पादकीय

नारायणी अस्पतालमा कर्मचारी र औषधि पसलेको यस्ताे सिन्डिकेट



काठमाडौं, १८ असोज । शैय्या अभाव, कर्मचारीबीच किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ ।

औषधि व्यवसायीको मिलेमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मृगौलासम्बन्धी रोगबाट पीडितहरु एउटै शैय्यामा बसेर डायलासिस गराउन बाध्य छन् ।

मृगौलाका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अन्य रोग सर्ने सम्भावना बढी हुने अस्पतालका डाक्टर तथा नर्सहरु नै बताउँछन् । तर, बिरामीलाई उचित सेवा दिन अस्पताल प्रशासनले गम्भीरता देखाएको छैन । अस्पतालमा बिरामीले दुःख पाउने कारण नै अस्पतालको व्यवस्थापकीय बेवास्ता रहेको देखिएको छ ।

सोमबार बिहान साढे सात बजे अस्पतालको दृशयले व्यवस्थापकीय कमजोरी छर्लङ्ग पारेको छ । पार्सा, रतनपुरकी ३६ वर्षीया नुरजहाँ खातुनलाई अस्पतालले डायलसिसका लागि बिहान सात बजे बोलाएको थियो । उनको स्वास्थ्य चिन्ताजनक थियो । तर, अस्पताल पुग्दा डायलासिस गर्ने मेसिनको रगत सफा गर्ने पाइप नभएकाले डायलासिस ढिलागरी हुने उनले थाहा पाइन् ।

उनको अवस्था थप नाजुक बन्दै गएपछि अर्का बिरामीका भिजिटर मेहन्दी हुसैन अन्सारी नजिकैको औषधि पसलमा पाइप किन्न जाँदा पसलेले ३ सय ५० पर्ने पाइपको मूल्य ४ हजार ८ सय रुपैयाँ पर्ने भनेपछि छक्क परे । ‘त्यसपछि म सिधै बाइकमा बसेर गन्डक पुगे र हेल्थ केयर सेन्टरबाट ३ सय ५० मा पाइप किनेर ल्याएँ’ मेहन्दीले भने । नागरिक दैनिकमा समाचार छ ।