काठमाडौं, १९ असोज । संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण विधेयक संसद्ले ‘फास्ट ट्र्याक’बाट टुंगो लगाउने भएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमा २३ वटा संशोधन विधेयक दर्ता भए पनि समितिमा छलफल नगरी विधेयक पारित गर्न लागिएको हो ।
संसद् सचिवालयले शुक्रबारको संसद् बैठकबाट यी विधेयक पारित गर्ने कार्यसूची तयार पारेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा २३ जना सांसदले एकल तथा सामूहिक गरी १३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमा भने १८ जना सांसदले एकल तथा संयुक्त गरी १० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । तर, यी विधेयकमाथि संसद्मै दफावार छलफल गर्ने, परेका संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ ।
सामान्यतया विधेयकमा परेको संशोधनमाथि संसदीय समितिमा दफावार छलफलसहित सहमतिको प्रतिवेदन तयार पारेर संसद्मा पेस गर्नुपर्ने हो । तर, ४ कात्तिकसम्म कार्यकाल रहेको संसद्ले टुंगो लगाउनुपर्ने विधेयक धेरै रहेकाले निर्वाचनसम्बन्धी यी विधेयकलाई संसद्मा सामान्य छलफल गराएर टुंगो लगाउन लागिएको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्