सम्पादकीय

हनुमानघाट बसेर रामायण लेखिएको दाबी



भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट नदीको किनारमा बसेर वाल्मीकि ऋषिद्वारा रामायण लेखिएको दाबी गरिएको छ ।

भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रले उक्त क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको दाबी गर्दै आएको छ ।

विसं २०६७ मा केन्द्रले जनकपुरमा विभिन्न क्षेत्रका विद्वान् र इतिहासविद्सहितको उपस्थितिमा रामायण सम्मेलन गर्दा भक्तपुरको हनुमानघाटबाहेक अन्य क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि नभएकाले हनुमानघाटमा नै बसेर रामायण लेखिएको केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हनुमानघाटमा रहेको वीर, भद्रा र तमसा नदीको त्रिवेणीको सङ्गम स्थलमा नजिकै बसेर वाल्मीकिले रामायण लेख्नुभएका हो, सो ठाउँबाहेक अन्य कुनै पनि स्थानमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि भएको छैन ।’ आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन वाल्मीकि दिवस मनाइने गरिन्छ ।

अहिले वीर, भद्रा र तमसा नदीको सङ्गमको छेउमा वाल्मीकिले पुस्तक च्यापेर रामायण लेखेको मूर्ति यथावत् छ । मूर्ति कहिले र कसले निर्माण गरिएको भन्ने प्रमाण अहिलेसम्म नभेटिएको देवकोटाले बताउनुभयो । इतिहासविद् डा। पुरुषोत्तमलोचन श्रेष्ठ वाल्मीकिले भक्तपुरको हनुमानघाटमा बसेर रामायण लेखेको शिलालेख नभेटिए पनि सो ठाउँमा वाल्मीकिको मूर्ति हुनु आफैँमा वाल्मीकिले सोही ठाउँमा बसेर रामायण लेखेको सशक्त प्रमाण भएको बताउनुभयो ।

त्यस क्षेत्र ऐतिहासिक भएकाले उक्त ठाउँलाई पुरातìव विभाग र स्थानीय तहले विशेष संरक्षण गर्नुपर्ने भए पनि संरक्षण भने नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘वाल्मीकिले सो ठाउँमा बसेर रामायण लेख्नु नेपालकै लागि गौरवको विषय हो । यस ठाउँलाई सरकारले विशेष संरक्षण गर्नुपर्छ ।’

हनुमानघाट सामाजिक सेवा समितिका अध्यक्ष रामबहादुर प्रजापतिले धार्मिक र ऐतिहासिक दृष्टिकोणले यस क्षेत्र पवित्र भए पनि संरक्षण भने हुन नसकेको गुनासो गर्नुभयो ।

समितिले यस क्षेत्रमा सरसफाइ गर्दै आए पनि साधन र स्रोतको अभाव भएकाले सोचेजतिको काम हुन नसकेको उहाँले बताउनुभयो । गोरखापत्रमा समाचार छ ।