सम्पादकीय

वाम गठबन्धनः सिट बाँडफाँड, घोषणापत्र लेख्न समिति



काठमाडौं, १९ असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र बाँडफाँड र संयुक्त घोषणापत्र तयार गर्न छुट्टाछुट्टै समिति बनाएको छ ।

एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले समितिहरू बनाएको हो । उम्मेदवारीका लागि क्षेत्र निर्धारण समितिमा एमाले र माओवादी केन्द्रबाट तीन-तीन र नयाँ शक्तिबाट एकसहित सात सदस्य रहेका छन् ।

संयुक्त घोषणापत्र मस्यौदा समितिमा एमालेबाट तीन, माओवादी केन्द्रबाट तीन र नयाँ शक्तिबाट दुईसहित आठ सदस्य रहेका छन् । समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुन पार्टीले कुन–कुन क्षेत्रमा कति सिट पाउने भन्ने टुंगो लगाउनेछ ।

प्रदेश र प्रतिनिधिसभाका लागि तीनवटै पार्टीका एजेन्डा समेटिनेगरी संयुक्त घोषणापत्र तयार पारिनेछ । दुवै समितिमा पदाधिकारी तह र प्रभावशाली नेताहरू समेटिएका छन् । ‘समितिले छिटोभन्दा छिटो काम सम्पन्न गर्छ’ गौतमले भने ।

आठ सदस्यीय एकता संयोजन समितिमा ओली र प्रचण्ड संयोजकको हैसियतमा रहेका छन् भने बाँकी सदस्यका रूपमा रहेका छन् ।

को–को छन् संयोजन समितिमा

एमालेः केपी ओली (संयोजक), माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल,

माओवादी केन्द्रः पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल,

नयाँ शक्ति पार्टीः डा. बाबुराम भट्टराई

घोषणापत्र मस्यौदा समिति

वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, देव गुरुङ, प्रदीप ज्ञवाली, विश्वभक्त दुवाल, डम्बर खतिवडा र डा। लक्ष्मी देवकोटा

६०–४० क्षेत्र निर्धारण समिति

ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, मातृका यादव र गंगा श्रेष्ठ

झलनाथ परेनन् एकता संयोजन समितिमा

तीन पार्टीको एकता संयोजन समितिमा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छैनन् । सुरुमा एमालेका तर्फबाट तीन पूर्वप्रधानमन्त्री केपी ओली, माधव नेपाल र झलनाथ खनालसहित वामदेव गौतम रहने समझदारी थियो । तर, घोषणासभामा वितरित समझदारीपत्रमा एमालेका तर्फबाट चारजना रहने उल्लेख थियो, नाम थिएन ।

बुधबार बसेको पहिलो बैठकमा एमालेका तर्फबाट खनालको सट्टा महासचिव ईश्वर पोखरेलले प्रतिनिधित्व गरे । ‘मलाई त्यसबारे कुनै जानकारी छैन, समितिमा को–को रहने भन्ने विषयमा पार्टीमा छलफल भएको पनि छैन,’ खनालले भने, ‘अध्यक्षले नै निर्णय गरेको हो भने जानकारी भएन ।’

बिहीबार दुवै समितिको बैठक

घोषणापत्र र क्षेत्र बाँडफाँडका लागि दुवै समितिको बैठक बिहीबार बिहान ९ बजे माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । बिहीबारकै बैठकले मोटामोटी खाका तयार गर्ने नेताहरूले दाबी गरेका छन् ।

एकता घोषणाबारे बैठकमा एसएमएस रिपोर्टिङ

एकता समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्षता गर्दै बैठक सुरु गर्न ओलीलाई आग्रह गरेका थिए । नेताहरूबीचको समझदारीअनुसार अबदेखि बैठकको अध्यक्षता ओलीले नै गर्नेछन् ।

बैठकमा एकताको घोषणाले जनतामा उत्साह आएको भन्दै नेताहरूले मोबाइलमा आएका बधाई सन्देश देखाएका थिए ।

‘एकतालाई बौद्धिक क्षेत्रले सचेत तरिकाले विश्लेषण गर्दै सही भनेको छ, कतै बिथोलिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । एसएमएस आएको देखाएर बैठकमा आपसमा खुसी पनि साटियो,’ एक नेताले भने । नयाँ पत्रिकामा समाचार छ ।