काठमडौं, २२ असोज । नेपाल र भारतबीच भएका सबै सन्धि सम्झौता पुनरावलोकन गरेर सरकारलाई सुझाब दिन गठिन प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक शनिबार सुरु भएको छ । बैठकमा १९५० को सन्धि, सीमा व्यवस्थापन र नेपाल–भारत जलस्रोत सहकार्यका विषयमा छलफल भएको छ ।
बैठकमा इपिजीको नेपालका सदस्य एवं पूर्वसचिव सूर्यनाथ उपाध्यायले नेपाल–भारत सीमा व्यस्थापनबारे प्रस्तुतीकरण गरेका थिए । स्रोतका अनुसार उनले नेपाल र भारतबीच सीमा खुला भए पनि सुरक्षाका हिसाबले नियन्त्रित नै रहेको बताएका थिए ।
दुवैतर्फ मजबुत सुरक्षा उपस्थिति रहेको, तर आवतजावत गर्ने सर्वसाधारणको रेकर्ड राखिनुपर्ने उपाध्यायको भनाइ थियो । नेपाल र भारत दुवैको सुरक्षा स्वार्थ सम्बोधन गर्न सीमा व्यवस्थापन हुनुपर्ने र परिचयपत्रका आधारमा आवतजावत हुनुपर्नेमा उनको जोड थियो ।
बैठकमा जलस्रोत र १९५० को सन्धिबारे पनि छलफल भएको समूहका नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले जानकारी दिए । नेपालका तर्फबाट थापासहित सदस्यहरू सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र डा राजन भट्टराई सहभागी थिए । भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी थिए । पाँचौँ बैठक आइतबार पनि निरन्तर हुने सदस्य डा भट्टराईले जानकारी दिए । छैटौँ बैठक दुई महिनापछि भारतमा बस्ने गरी पाँचौँ बैठक सम्पन्न हुनेछ ।
संयोजक डा थापाले बैठकमा दुवैतर्फबाट खुला र सघन रूपमा छलफल भएको बताए । उनले आगामी वर्ष इपिजीको म्याद सकिनुअघि नै प्रतिवेदन तयार गर्नेगरी दुवै पक्ष एक भएर सक्रिय भएको पनि जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्