Banner News

निर्वाचनको कमाण्डर अध्यक्षः एमालेका शीर्ष नेताहरु सबै प्रत्यक्षमा उत्रिए



काठमाडौ२४असोज । एमालेका शीर्ष तहका सबै नेताले प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन। सो पार्टीको मंगलबार बिहान बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो। स्रोतका अनुसार पार्टी अध्यक्ष केपी ओली झापा ५ बाट निर्वाचन लड्ने भएका छन् ।

त्यस्तै एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौ २ झलनाथ खनाल ईलाम १, महासचिव ईश्वर पोखरेल काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नामको टुंगो बिहीवार लगाउने निर्णय गरेको छ ।

माओवादीसँग सिट बाँडफाँट गर्न बनेको कार्यदलले काम नसकेकाले बिहिबार मात्रै उम्मेदवारको नाम टुंगो लगाउने भएको हो । बाम गठबन्धनमा सिट बाँडफाँटका लागि एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलले काम सकेपछि मात्रै एमालेले नाम टुंगो लगाउने छ ।

बैठकले निर्वाचन परिचालनको नेतृत्व गर्ने सम्पूर्ण जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। यस्तै, बैठकले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको भर्त्सना गरेको छ ।