सम्पादकीय

गौतम बुद्ध विमानस्थल समयमै पूरा नहुने



काठमाडौं, २६ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीतेन्द्र देवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक भए पनि समयमै पूरा हुनेमा ढुक्क हुनसक्ने स्थिति नरहेको बताएका छन ।

विगत ६ महिनादेखि रोकिएको विमानस्थल निर्माणको काम सरकारले सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि पुनः सुरु भए पनि निर्माणले गति पाउनेमा पूर्ण आश्वस्त हुन नसकेको उनको भनाइ थियो ।

बुधबार व्यवस्थापिका संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिमा छलफलका क्रममा उहाँले अहिलेकै गतिमा काम हुन सके सरकारले ठेकेदारसँगको सम्झौता भने रद्ध नगर्ने स्पष्ट पारे ।

चिनियाँ ठेकेदार कम्पनी र स्थानीय आपूिर्तकर्ताबीच भुक्तानी विवादले छ महिनादेखि अवरुद्ध विमानस्थल निर्माणको काम असोजभित्रै सुरु नभए सम्झौता रद्ध गर्ने चेतावनी मन्त्रालयले दिएको थियो । मन्त्रालयको चेतावनीपछि चिनियाँ ठेकेदार कम्पनीले व्यवस्थापन समूह नै परिवर्तन गरेर कामको गति दिएको छ ।

समितिको बैठकमा मन्त्री देवले ठेकेदार कम्पनीलाई ८० जनाबाट कामदारको सङ्ख्या दुई सय पु¥याउन तथा थन्किएर रहेका उपकरण पूर्णरूपमा उपयोगमा ल्याउन निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै भुक्तानी विवाद समाधान गरेर कामको प्रक्रिया अघि नबढाए सम्झौता रद्ध गर्नसकिने जानकारीसहितको पत्र ठेकदार कम्पनीलाई दिएको उहाँले बताउनुभयो ।

चीन सरकारले पनि गौतम बुद्ध विमानस्थल निर्माणमा चासो देखाएर ठेकेदार कम्पनीलाई घाटामै गए पनि राम्रोसँग काम गर्न निर्देशन दिएकोले पछिल्लो केही समययता काम सुरु भएको उहाँको भनाइ थियो । ‘पहिलेको तुलनामा अहिले सन्तोषजनक अवस्था छ, उहाँले भन्नुभयो तर यसैमा ढुक्क भएर बस्न सक्ने स्थिति भने छैन’ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ठेकेदार कम्पनीको व्यवस्थापन फेरिएको र उपकरण पनि प्रयोग हुन थालेपछि निर्माणमा केही सकारात्मक अवस्था देखिएको बताउनुभयो । काम नै छाडेर ठेकेदार कम्पनीले लापरबाही गरे सम्झौता रद्ध गरिने अन्यथा अहिलेकै परिस्थितिमा अघि बढे यसलाई निरन्तरता दिन सकिने उहाँको भनाइ थियो ।

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले कानुनीरूपमा सहायक ठेकेदार राख्न सक्ने व्यवस्था नभएको र इन्जिनियरको मूल्याङ्कनले समेत यसलाई अवैधानिक भनेको जानकारी दिनुभयो । गोरखापत्रमा समाचार छ ।