काठमाडौ२६ असोज । प्रमुख तीन दलका शीर्ष नेताबीच आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारेमा बिहीबार अपरान्ह संयुक्त बैठक भएको छ ।
यस बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास नगर्न आग्रह गरेका छन् ।
बैठकमा दुई नेताले कांग्रेसका सभापतिसमेत रहेका प्रम देउवालाई निर्वाचन आचारसंहिताविपरित मन्त्रिपरिषद्मा कुनै फेरबदल नगर्न पनि सुझाएका छन् । दुई नेताको आग्रहपछि प्रधानमन्त्री देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्नु भएको छ ।
देउवाले प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आश्वस्त पार्ने कोशिश गरेका छन् । बुधबार मात्रै कानुन मन्त्री यज्ञबहादुर थापाले निर्वाचनको मिति सर्न सक्ने बताएपछि एमाले–माओवादी सशंकित भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विहीबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भएको थियो । निर्वाचनको मिति नसार्ने प्रतिवद्धता प्रधानमन्त्री देउवाले जनाउनुभएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रियसभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ ।
त्यही विषयमा सहमति जुटाउने जिम्मेवारी कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।
आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरेपनि राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुनका लागि अझै सहमति जुटाउन सकेको छैन ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस्