सम्पादकीय

कांग्रेसबाट उम्मेदवार सिफारिस भएका तामाङ तस्करी आरोपमा पक्राउ



काठमाडौं, ३१ असोज । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा मानबहादुर तामाङलाई पक्राउ परेको छ । उनी रसुवा कांग्रेसबाट प्रदेशसभामा क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका व्यक्ति हुन् ।

सुन ओसारपसारमा यसअघि नै पक्राउ परेकाहरूले सुन ल्याउने काममा तामाङले मुख्य भूमिका निर्वाह गरेको बताएपछि तामाङलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्षसमेत हुन् ।

उनको अस्वाभाविक सम्पत्ति छानबिनका लागि समेत प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । प्रहरीका अनुसार तामाङ सुनका मुख्य मालिक भनिएका चिनियाँ नागरिक पान वई मिङ र यान बेङ विङसँग नजिक थिए ।

स्रोतका अनुसार चीनबाट पठाइएको सुन तामाङले काठमाडौं र भारतीय बजारसम्म पुर्‍याउने चाँजो मिलाउँथे । एक दशकअघिसम्म सामान्य आर्थिक हैसियतका तामाङको उक्लिँदो आर्थिक हैसियत देखेर उनकै गाउँलेसमेत चकित पर्थे । रसुवाको पार्वतीकुण्ड गाउँपालिका ४ स्थायी घर भएका तामाङ दशकअघि काठमाडौंको बालाजुमा रेडियोटिभी मर्मतको काम गर्थे । कान्तिपुरमा समाचार छ ।