Banner News

फूल अभावले पाँच गुणा मूल्य बढ्यो



भक्तपुर, ३१ असोज । वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ ।

यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो ।

गुण्डुमा पाँच वर्षदेखि फूलखेती गर्दै आएकि ५० वर्षीया सीता थापा यस वर्ष विगत वर्षभन्दा फूलको माग दोब्बर भएको र मागअनुसार मूल्य बढाउनु परेको बताउछिन ।

विगतका वर्षमा एक थुंगा सयपत्री फूल एक रुपैँयामा बिक्री गर्दै आएका सूर्यविनायक नगरपालिका गुण्डुका किसान यस वर्ष प्रतिथुंगा पाँच रुपैयामा बिक्री गरिरहेका छन् । यहाँका एक सयभन्दा बढी किसानले आधा रोपनीदेखि पाँच रोपनी जग्गामा फूलखेती गर्दा एक वर्षमा रु ५० हजारदेखि रु आठ लाखसम्म आम्दानी हुन थालेपछि किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

गुण्डुकी ४८ वर्षीया देवु कुँवर दिनको रु ५०० ज्याला तिरेर मखमली फूलको माला गाँस्न लगाएको बताछिन । एउटा माला रु २५ देखि रु ५० सम्ममा बिक्री गर्ने गरेको उनले बताइन । सयपत्री फूल उत्पादन कम भएकाले एउटै थुंगा पाँच रुपैयाँमा बिक्री गर्ने गरेको कुँवरले बताइन ।

फूल र माला खोज्न गाउँ÷गाउँमै एक महिना अघिदेखि व्यापारी आउने भएकाले बजार खोज्दै जानु नपर्ने भएपछि सहज भएको फूलको व्यापार गर्दै आएकी ३० वर्षीया सविना नगरकोटी बताउछिन । यस वर्ष मागअनुसारको माला र फूल दिन नसक्दा समस्या परेको बताउँदै उनले फूलखेती गर्ने जग्गाको समेत अभाव भएको बताइन ।

पाँच वर्षदेखि जग्गा भाडामा दिएर फूलखेती गर्दै आएकी स्थानीयवासी इन्दिरा नगरकोटी फूलबाट मनग्य आम्दानी हुने भए पनि मागअनुसारको फूल उत्पादन गर्न नसकेको बताइन । सयपत्री फूल भर्खरै फुल्न थालेकाले फूलको अभाव भएको छ ।