बालकृष्ण सुवेदी
बागलुङ,१० मंसिर। मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बागलुङमा वामपन्थी मोर्चा र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
वामपन्थी मोर्चाबाट नेकपा एमालेले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा, नेकपा माओवादी केन्द्रले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा तथा राष्ट्रिय जनमोर्चाले २ वटा प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन् । वामपन्थीहरुको तर्फबाट बागलुङ क्षेत्र नं। १ र २ प्रतिनिधिसभा र क्षेत्र नं। २ ख प्रदेशसभामा बागी उम्मेदवारी पनि परेको छ ।
बागी उम्मेदवारहरुले मनोनयन फिर्ता हुने समय अगावै फिर्ता लिइसक्ने वामपन्थी नेताहरुले बताएका छन् । संघीय समाजवादी फोरम, राप्रपा राष्ट्रवादी लगायतका दलहरुले पनि उम्मेदवारी दिएका छन् । तर निर्वाचनमा खास प्रतिस्पर्धा भने वामपन्थी र कांग्रेसका उम्मेदवारबीच हुनेछ ।
वामपन्थीहरुको बाहुल्यता रहेर पनि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ३ वटै निर्वाचन क्षेत्रमा जितेको नेपाली कांग्रेसलाई यस पटक जसरी पनि किनारा लगाउने लक्ष्यका साथ ३ वटा वामपन्थी शक्तिहरु एकतावद्ध भएर निर्वाचनमा होमिएपछि नेपाली कांग्रेस आत्तिएको छ । यद्यपी तीन पार्टीबीचको मेल भित्र खेलेर निर्वाचन जित्ने भित्री मनसाय पनि कांग्रेस नेताहरुमा देखिन्छ ।
उम्मेदवारी दर्तासँगै चोक चोकमा उम्मेदवारबारे छलफल हुन थालेका छन् । टिकट पाएका नेताहरु र पार्टी पंक्ति उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने ध्याउन्नमा लागेका छन् । उम्मेदवारहरुको चर्चा परिचर्चासँगै असन्तुष्टि पनि पोखिन थालेका छन् । उम्मेदवारको दौडमा रहेका तर टिकट नपाएकाहरुको असन्तोष त छँदैछ, भुगोल बाहिरबाट उम्मेदवार पठाएको गुनासो पनि सुनिन थालेको छ ।
एमालेलाई अन्तरघातको डर
एमालेको बलियो आधार क्षेत्रका रुपमा रहेको क्षेत्र नं। १ को प्रदेश क मा २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका क्रममा भएका अन्तरघातको चर्चा हुन थालेको छ । उम्मेदवार चयनप्रति सामाजिक सञ्जालमा असन्तुष्टि छरपष्ट भएका छन् ।
सिफारिसमा परेका २०७० सालको निर्वाचनका उम्मेदवार हिराबहादुर केसीबारेमा धेरैको टिप्पणी थियो, केसी विद्रोह गर्छन् वा निर्वाचनमा असहयोग गर्छन रु तर केसीले सामाजिक सञ्जालमा मार्फत र उम्मेदवारी दर्ता प्रक्रियामा सक्रिय सहभागिता जनाएर बागलुङ जिल्लालाई वामपन्थीहरुको किल्ला बनाउन आवहान गरेसँगै बजार हल्ला हराउन थालेका छन् ।
हल्ला चलाएर आत्म सन्तुष्टी गर्ने एमाले भित्रैका र प्रोपोगण्डा बनाएर मत आकर्षण गर्ने विपक्षीहरुको चाहनामा केसीको शालिनता र पार्टीप्रतिको प्रतिवद्धताले झापड हानेको छ । एमालेबाट क्षेत्र नं। १ अन्तरगत सिफारिस भएका श्रीप्रसाद शर्माले स्थायी कमिटिले जनमतको कदर गर्न नसकेको गुनासो गर्दागर्दै पनि वामपन्थी जिताऊ अभियान सफल पार्न सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उत्साहका साथ उम्मेदवारी दर्तामा सहभागी भएर परिपक्क राजनीतिक सन्देश दिएका छन् ।
विगतमा आफु अनुकुल निर्णय भएन भनेर पार्टी हराउन लागेका, कार्यालय तोडफोड गर्नेदेखि विज्ञप्ती निकाल्नेहरुलाई केसी र शर्माको शालिनताले जवाफ दिएको छ । निर्णय सदैव आफ्नो पक्षमा आउँदैन, नआउँदा पनि पार्टीलाई जिताउन जिम्मेवार बनेर लाग्नुपर्छ भन्ने केसी र शर्माको आव्हानले एमालेजन उत्साहित भएका छन् ।
बागीको पनि पिरलो
साविकको क्षेत्र नं। ३ हालको क्षेत्र नं। २ मा सूर्य चिन्हमा मतदान गर्न नपाइने लगायतका गुनासाहरु सामाजिक सञ्जालहरु देखिन थालेका छन् । क्षेत्र नं। २ अन्तरगत प्रदेश सभा ख मा त एमालेबाट सिफारिसमा परेका दधिराम शर्माले बागी उम्मेदवारी दिएका छन् ।
त्यस क्षेत्रका एमालेका संयोजक लगायत अगुवा नेता कार्यकर्ताले जिल्ला सदरमुकाम नजिकका नेताहरुले आफ्नो क्षेत्रलाई आफुलाई सत्ताप्राप्तिको भ¥याङ बनाएको आरोप लगाएका छन् । २ नं। क्षेत्रमा एमालेका कुनै पनि उम्मेदवार नहुने विषय गम्भीर रहेको भन्दै उनीहरुले राजीनामा दिएका छन् । यद्यपि त्यस विषयमा केन्द्रीयस्तरमै छलफल चलिरहेको एमाले स्रोतले जनाएको छ ।
यस्तै एमालेको जनमत भएको काठेखोला गाउँपालिकालाई शून्य बनाएको गुनासो पनि सामाजिक सञ्जालहरुमा देखिन थालेको छ । करिब ७ हजार मत पाउने ठाउँबाट एकजना पनि उम्मेदवार नबन्ने अवस्थाप्रति सामाजिक सञ्जालमा दुखेसो व्यक्त भएका छन् ।
माओवादीमा पनि गुनासो
यस्तै माओवादी केन्द्रले पाएको प्रतिनिधिसभा क्षेत्र नं। २ मा भूगोलभन्दा बाहिरको उम्मेदवार पठाएको गुनासो देखिन्छ । क्षेत्र नंं २ प्रदेश सभा ‘क’ का उम्मेदवारमा प्रस्तावित नेताले नै प्रतिनिधिसभाको उम्मेदवारप्रति असन्तुस्टि व्यक्त गरेका छन् ।
कांग्रेसमा राजीनामा दिने लहर
वामपन्थीहरुमा मात्रै होइन, कांग्रेसमा पनि उम्मेदवारीप्रति चरम असन्तुस्टि देखिन थालेका छन् । कांग्रेसका पुराना नेता मणिभद्र शर्माले उम्मेदवारी प्रति असन्तुस्टि व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
उनका छोरा नरेश कँडेलले त कांग्रेसको उम्मेदवारीमा पैसाको खेल हुँदा बुवा पछि परेको आरोप लगाएका छन् । काठेखोला गाउँपालिका ४ तंग्रामका पार्टी अध्यक्ष यामदत्त कँडेलले राजीनामा दिएका छन् । क्षेत्र नं। २ प्रदेश ख मा उम्मेदवार नबनाएको भन्दै क्षेत्रीय सभापति द्रोणबहादुर कुँवरले पदबाट राजीनामा दिएपछि पार्टी सभापतिसँगको सल्लाहमा फिर्ता लिएका छन् ।
निर्वाचन नजिकिँदै गर्दा जसले आन्तरिक समस्यालाई समाधान गर्दै अगाडि बढ्छ, उसैले जित्ने अवस्था देखिन्छ । यद्यपी बागलुङमा तीनवटै वामपन्थी दलहरु तालमेल गरेर निर्वाचनमा गएकाले जीत वामपन्थीहरुकै हुनेमा उनीहरु ढुक्क देखिन्छन् ।
बागलुङ १ मा चम्पादेवी र सूर्यबीच प्रतिस्पर्धा
बागलुङ जिल्ला क्षेत्र नं। १ मा नेपाली कांग्रेसका चम्पादेवी खड्का र नेकपा एमालेका डा।सूर्य पाठकबीच प्रतिस्पर्धा हुने भएको छ । खड्कालाई राप्रपाको समर्थन छ भने पाठकलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ । वामपन्थी र लोकतान्त्रिक मोर्चाबीच हुने प्रतिस्पर्धामा कसले बाजी मार्ला चर्चा चल्न थालेको छ ।
बागलुङ जिल्ला मतको हिसावले वामपन्थीहरुको बाहुल्यता रहेको जिल्ला हो तर बापन्थीहरु एक ठाउँ नहुदाँ नेपाली कांग्रेसले धेरै पटक जित हासिल गरेको छ । यसपटक वामपन्थीहरु एक भएर निर्वाचनमा गएकाले प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ वटै सिट वामपन्थीहरुले जित्ने आंकलन गरिएको छ ।
चुनावी तालमेलले वामपन्थीहरुमा उत्साह थपेको छ । गत स्थानीय तह निर्वाचनको मत हेर्दा नेपाली कांग्रेस र वामपन्थी दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । वामपन्थीहरुका मत यदि एकता र सहकार्यको भावना अनुसार नै सही ठाउँमा परे भने ६ वटै स्थानमा वामपन्थीहरु विजयी हुने निश्चित छ ।
यस्तो छ स्थानीय निर्वाचनको अंकगणित
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा एमाले, राजमो र राप्रपाको तालमेलबाट एमाले र राप्रपाले विजयी प्राप्त गरेका थिए । तीन वटा पार्टी एकतावद्ध भएर निर्वाचनमा जाँदा कांग्रेसलाई २ हजार २ सय ९४ मतले पराजित गरेका थिए । स्थानीय निर्वाचनमा एमालेलाई साथ दिएको राप्रपा यतिबेला कांग्रेससँगको मोर्चामा छ ।
एमाले राजमोहरुले स्थानीय तह निर्वाचनमा राप्रपाको मत १ हजार ५ सय आएको आंकलन गरेका छन् । राप्रपाले आफ्नो मत ३ हजार भन्दा बढी भएको दावी गर्दै आएको छ । माओवादी केन्द्रको उम्मेदवार नभएका कारण उनीहरुका मत अलमलिएका थिए । यस पटक राप्रपाको मत घटने र माओवादी केन्द्रको मत बढ्ने देखिन्छ ।
एमाले र राजमोले जितेको काँठेखोला गाउँपालिकामा कांग्रेस बाहेक सबै दलहरु एकतावद्ध भएका थिए । राप्रपा सहितलाई सहभागी गराएका वामपन्थीहरुले काठेखोलामा स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ७५ मतान्तरमा कांग्रेसलाई पराजित गरेका थिए ।
नेपाली कांग्रेसले प्रमुख र वामपन्थीहरुले उपप्रमुखमा विजय प्राप्त गरेका जैमिनीमा नेपाली कांग्रेसले ४ सय ६ मतले जित हासिल गरेको थियो । जैमिनीमा नेकपा माओवादी केन्द्र छुट्टै निर्वाचनमा गएको थियो र उसले ९ सय ५२ मत प्राप्त गरेको थियो । माओवादी र एमाले तथा राजमोको मत मिलाउदा जैमिनीमा कांग्रेस ५ सय ४६ मतले पछाडि छ ।
क्षेत्र नम्बर १ मा वामपन्थी बलियो
प्रतिनिधिसभा क्षेत्र नं। १ को अर्को स्थानीय तह बरेङ गाउँपालिकामा राजमोले अध्यक्ष र उपाध्यक्ष जीत हासिल गरेको छ । त्यहाँ एमाले र राजमोबीच चुनावी तालमेल भएको थियो । कांग्रेस र माओवादीबीच भएको तालमेल अनुसार यो स्थानीय तहमा पनि वामपन्थीहरु ८३९ मतले अगाडि छन् ।
यसरी क्षेत्र नं। १ का ४ वटा स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतका आधारमा वामपन्थीहरुले २८ हजार २ सय ९३ र कांग्रेसले २३ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । क्षेत्र १ मा गत स्थानीय तहको निर्वाचनको नतिजा अनुसार ५ हजार ५४ मतले वामपन्थीहरु अगाडि छन् ।
क्षेत्र नं। १ प्रदेश सभा क अन्तरगत बागलुङ नगरपालिका वडा नं। १ देखि ११ सम्म वामपन्थी उम्मेदवारले ९ हजार ६ सय ९१ र नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ६ मत प्राप्त गरेका छन् । यस्तै काठेखोलामा वामपन्थी उम्मेदवारले ६ हजार ६ सय ९६ र कांग्रेस उम्मेदवारले ५ हजार २ सय २१ मत प्राप्त गरेका छन् ।
यो प्रदेश सभा निर्वाचन क्षेत्रमा गत स्थानीय तहमा वामपन्थीहरुले १६ हजार २ सय २७ र कांग्रेसले १२ हजार २ सय २७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा वामपन्थीहरु कांग्रेस भन्दा ४ हजार १ सय ६० मतले अगाडि रहेका छन् । यो प्रदेशसभामा वामपन्थी मोर्चाका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा र नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति दिपेन्द्रबहादुर थापाबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै क्षेत्र नं। १ प्रदेशसभा ख मा पनि वामपन्थीहरुको अग्रता रहेको छ । वामपन्थीहरुले जैमिनी, बरेङ र बानपाका १२, १३ र १४ नं। वडामा ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले सो क्षेत्रमा १० हजार ९ सय १२ मत प्राप्त गरेको छ । यस क्षेत्रमा वामपन्थीहरु ९ सय ९४ मतले अगाडि देखिन्छन् । यो क्षेत्रमा वामपन्थी मोर्चाका साझा उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चा बागलुङका पूर्व अध्यक्ष कृष्ण थापा र नेपाली कांग्रेसका तर्फबाट नितर्वमान सांसद प्रकाश शर्मा पौडेलबीच प्रतिस्पर्धा हुदैछ । यो प्रदेशमा अलि बढी प्रतिस्पर्धा हुने स्थानीय तहको निर्वाचनको परिणामले देखाउँछ ।
स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा वामपन्थीहरुका लागि बागलुङ क्षेत्र नं। १ र यो क्षेत्र अन्तरगतका दुइवटै प्रदेश सजिलै जित्ने आधारका रुपमा देखिन्छ । वामपन्थीहरुबीचको एकताले स्वतन्त्र खालका मत अझै थप हुने विश्वास वामपन्थीहरुले गरेका छन् ।
तर, नेपाली कांग्रेसका जिल्ला नेताहरु भने स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक व्यवस्थापनमा समस्या भएका कारण मत कमी आएको दावी गर्छन्, वामपन्थीहरुबीच एकता हुदाँ मत बढ्ने मात्रै होइन, कतिपय ठाउँमा घट्ने उनीहरुको आंकलन छ । त्यति मात्रै होइन, बागलुङ नगरपालिकामा राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काका कारण एमालेले जितेको र यो चुनावमा खड्काको साथ कांग्रेसलाई हुने भएकाले जित कांग्रेसको हुने उनीहरुको दावी छ । कांग्रेस र राप्रपा मिलेर लड्दा वामपन्थीहरुलाई सहजै पराजित गर्न सकिने आंकलन उनीहरुको छ ।
वामपन्थीहरुले सिंगो जिल्लामा एकजना पनि महिला उम्मेदवार प्रत्यासी नबनाएको, प्रत्यक्षतर्फ बागलुङ नगरपालिकावासी, विगतमा निर्वाचन जितेर राज्यमन्त्री समेत भएकी चम्पादेवीलाई उम्मेदवार बनाएकाले स्वभाविकरुपमा मत बढ्ने उनीहरुको दावी छ ।
क्षेत्र नम्बर दुईमा पनि वामपन्थीको पकड
बागलुङ क्षेत्र नं। २ मा रहेका ६ वटा स्थानीय तहमध्ये ३ वटामा वामपन्थी र ३ वटामा कांग्रेसले जीत हासिल गरेका छन् । ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकामा नेकपा एमाले तथा ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेका छन् । गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका कांग्रेसले जितेको छ ।
यो क्षेत्रमा नेपाली कांग्रेसले पहिलो संविधानसभाको निर्वाचनमा विजयी नरबहादुर थापा ‘निरज’लाई उम्मेदवार बनाएको छ । वामपन्थीहरुको तर्फबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल उम्मेदवार छन् । उनको उम्मेदवारीपछि पार्टीभित्र केही असन्तुष्टिहरु देखिएका छन् । यद्यपि छिट्टै ती समस्याहरु समाधान हुने माओवादी केन्द्रले बताएको छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्र नं। २ मा वामपन्थीहरुले २६ हजार ५ सय ४० मत प्राप्त गरेका छन् । त्यहा नेपाली कांग्रेसले १८ हजार ३४ मत प्राप्त गरेको छ । यसरी हेर्दा गत निर्वाचनमा वामपन्थीहरु भन्दा कांग्रेस ८ हजार ५ सय ६ मतले पछाडि रहेको छ ।
क्षेत्र नं।२ को प्रदेश सभा क मा पनि वामपन्थीहरुकै अग्रता छ । वामपन्थीहरुले सो क्षेत्रमा १५ हजार ८ सय ८ मत प्राप्त गरेका छन् । कांग्रेसको प्रदेश सभा अन्तरगतका स्थानीय तहमा ११ हजार १ सय मत प्राप्त भएको छ । यसरी हेर्दा यो प्रदेशमा पनि ४ हजार ७ सय मतको अन्तरमा वामपन्थीहरु अग्रस्थानमा रहेका छन् ।
त्यस्तै क्षेत्र नं। २ प्रदेशसभा ख मा पनि वामपन्थीहरुकै अग्रता रहेको छ । वामपन्थीहरुले १० हजार ७ सय ३२ मत पाएका छन् भने कांग्रेसले ६ हजार ९ सय ३४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा पनि वामपन्थीहरु ३ हजार ७ सय ९८ मतले अगाडि छन् ।
बागलुङमा २०४६ सालको परिवर्तन पछि कांग्रेस अग्रस्थानमा रहदै आएको छ । बहुदलीय व्यवस्था पुनस्थापना पछि ३ निर्वाचन क्षेत्र रहेको बागलुङमा कांग्रेसले २०४८ मा तीन वटै क्षेत्रमा जित हात पारेको थियो । २०५१, २०५६ र २०६४ मा एक एक सिट जितेको कांग्रेसले २०७० मा भने ३ वटै क्षेत्र जितेको थियो ।
२०५१ र २०६४ मा क्षेत्र नंं। १ मा विजय प्राप्त गरेको एमालेले ३ वटा निर्वाचनमा एउटा पनि सिट जित्न सकेको थिएन । २०५१ र २०६४ मा एक एक क्षेत्र जितेको राजमोले २०५६ मा २ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो ।
वामपन्थीहरुले २०५१ मा २ सिट, २०५६ मा २ सिट र २०६४ मा २ सिट जितेका थिए । यस पटक उनीहरुले संघीय संरचना अनुसार बनेका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका सबै सिटमा कब्जा जमाउने उदघोष गरेका छन् । कांग्रेसले वामपन्थीहरुलाई जुधाएर जिल्ला कब्जा गर्दै आएको भन्दै यस पटक वामपन्थीहरु एकतावद्ध भएका छन् ।
वामपन्थीहरु एकता भइरहदाँ कांग्रेसमा निराशा देखिए पनि उनीहरुबीचमा खेलेर निर्वाचन जित्ने दाउ कांग्रेसमा देखिन्छ । कांग्रेसमा उम्मेदवारीमा चर्को विवाद देखिएकाले पनि वामपन्थीहरु उत्साहित देखिन्छन् । पछिल्ला निर्वाचनहरुमा पैसाको चलखेल बढी हुने गरेको छ । गाउँघरमा रहेका विभिन्न समुहहरुले सामुहिक रुपमा चन्दा माग गर्नेदेखि निर्वाचनलाई कमाऊ धन्दा बनाउने कतिपय नेता तथा कार्यकर्ताहरुका कारण पनि पैसाको चलखेलले प्रश्रय पाएको छ । सत्ताको प्रयोग हुने अवस्था पनि निर्वाचनमा रहन्छ ।
वामपन्थी शक्तिहरुले आफुहरुले पाएको मतलाई संरक्षण गर्न सक्दा नै जीत सुनिश्चित छ । यद्यपि विगतमा तालमेल गरेका कतिपय निर्वाचनमा बढी महत्वकांक्षा, काम नगर्ने रिपोटिङ धेरै मत आउने गर्ने, जनताबीचमा नजाने, नेताका वरिपरी बसेर वातावरण राम्रो भएको दावी गर्ने आदि कारण निर्वाचनमा हार व्यहोरेका घटना पनि छन् । निर्वाचनका सबै आधारहरुलाई व्यवस्थित गर्नसके यसपटक बागलुङको निर्वाचनमा वामपन्थीको जीत सुनिश्चित छ ।
जनता समाचारबाट










प्रतिक्रिया दिनुहोस्