काठमाडौं, १० कात्तिक । प्रमुख सत्तारुढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरुको निर्वाचन क्षेत्र तय गरेको छ ।
राजपा र संघीय समाजवादी फोरमसित चुनावी तालमेलको प्रयास जारी राखेको कांग्रेसले गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल मिलाउन मुस्किल भएपछि बिहीबार बसेको संसदीय समिति बैठकले समितिमा रहेका नेताहरुको निर्वाचन क्षेत्र तय गरेको हो । तालमेल मिलाउन समय लाग्ने भएकाले केन्द्रीय सदस्यको निर्वाचन क्षेत्र अर्को चरणमा गर्ने पार्टीको तयारी छ ।
कांग्रेस संसदीय समितिको निर्णयअनुसार सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । देउवा ०४८ देखि निरन्तर निर्वाचित हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट र भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी–३ बाट उम्मेदवार भएका छन् । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी ९पूर्वी०–१ बाट उम्मेदवार बनेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं–१ बाटै निर्वाचन लड्ने भएका छन् । पूर्वमहामन्त्री विमलेन्द्र निधि धनुषा–३ बाट उम्मेदवार हुने भएका छन् । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक समानुपातिकमा बसेका छन् ।
पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का सुर्खेत–१ बाट उम्मेदवार हुनेछन् । देउवा निकट प्रकाशशरण महत गृहजिल्ला नुवाकोटमा क्षेत्र नपाएपछि काठमाडौं–५ बाट उम्मेदवार हुने भएका छन् । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्