Banner News

मंसिर २१ गते को चुनावका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता हुँदै



काठमाडौं, १६ कात्तिक। मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो ।

यसअघि पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । बिहीवार उम्मेदवारी दर्ता भएका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

बिहीवार कार्यालय समय भित्र निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ । निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरुले कार्यालय समयभित्र उम्मेदवारी दर्ता गराउने ब्यवस्था मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले वताए।

निर्वाचन आयोगले जिल्लामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फको उम्मेदवारी दर्ता गराउन सक्ने प्रवन्ध मिलाएको छ ।

प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।