Banner News

संविधान कार्यान्वयन र देशको समृद्धिका लागि वाम गठबन्धन: महेश बस्नेत



भक्तपुर, कात्तिक १८ / संविधान कार्यान्वयन र देशको समृद्धिका लागि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि वाम गठबन्धन बनेको भक्तपुरबाट उम्मेदवारी दिएका वाम उम्मेदवारहरुले बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमालेका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनु भएका महेश बस्नेतले देशमा संविधान कार्यान्वयन गरी स्थिर सरकार गठन गर्दै देशको समृद्धिका लागि वाम गठबन्धन बनेको बताउनुभयो ।
विपक्षीले आफू विरुद्ध गर्ने आलोचनादेखि नडराउने बताउँदै उहाँले विपक्षीसँग सौहार्द रुपमा चुनाव लडेर विजय हासिल गर्ने दाबी गर्नुभयो । बस्नेतले भन्नुभयो एमाले आजको चीन जस्तो देश बनाउन चाहन्छ, भारत जस्तो होइन, एमालेको चाहना चाइनाको जस्तो समृद्ध समाजवाद हो, त्यसका लागि वाम गठबन्धन बनेको हो ।
नेमकिपा कोरियाको जस्तो शासन चाहने भएकाले पछाडि परेको व्यङ्य गर्दै उहाँले भन्नुभयो धाराबाहिर टेलिसिरियल जस्तै नेमकिपाको ईपिसोड घट्दै आएको थियो, नेमकिपाको यो वर्ष अन्तिम ईपिसोड आउँदैछ, त्यसपछि सकिन्छ । आफ्नो प्रतिस्पर्धामा पूर्वसभामुख र सम्मानित व्यक्ति आएको प्रतिक्रिया दिँदै बस्नेतले भन्नुभयो नेपाली कांग्रेसबाट मेरो प्रतिस्पर्धामा आउनु भएका पूर्वसभामुख दमननाथ ढुङ्गानालाई म स्वागत र सम्मान गर्र्छु तर जिताउन सक्दिन ।
आफू छोटो समयका लागि मन्त्री हुँदा भक्तपुरमा ५ अर्बको विकास बजेट ल्याएर ४८ वटा सडकदेखि हनुमन्ते र मनोहरा करिडोरको काम भइरहेको, मेलम्चीको पानी ट्याङ्की बनिरहेको दाबी गर्दै उहाँले आफू भक्तपुरको मुहार फेर्न तयार रहेको बताउनुभयो ।
भक्तपुर क्षेत्र नं. १ प्रदेश नं। क बाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका जिल्ला ईन्चार्ज देवीप्रसाद ढकालले लोकतन्त्रको सुनिश्चितताका लागि वाम गठबन्धन बनेको बताउनुभयो । चुनावपछि प्रदेश कानुन बनाएर संविधान कार्यान्वय गर्न र स्थायी सरकार गठन गरेर विकासको गतिलाई तीव्र पार्ने आफ्नो उदेश्य रहेको उहाँको भनाई छ ।
कार्यक्रममा क्षेत्र नं. २ प्रदेश नं. १ क सूर्यविनायकका एमालेका उम्मेदवार शशीजंङ्ग थापा र प्रदेश नं.१ ख मध्यपुरथिमिबाट एमालेका उम्मेदवार राजेन्द्रमान श्रेष्ठले एमालेको जितले नै देशको समृद्धि हुने बताउनुभयो ।
यस्तै क्षेत्र नं. १ को प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका मिलन सुवाल र प्रदेशसभाका लागि क्षेत्र नं. २ ख का उम्मेदवार रोमन शिलाकारले वाम गठबन्धनलाई नागरिकको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।