समाचार

प्रचारमा होमिए एमाले शीर्ष नेता



काठमाडौं १९ कार्तीक । नेकपा एमालेका शीर्ष नेताहरू उम्मेदवारी दर्तासँगै आआफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारमा होमिएका छन्। दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ मा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट शीर्ष नेताहरूले पनि उम्मेदारी दिएका छन्। झापा ५ बाट उम्मेदवारी दिएका अध्यक्ष केपी शर्मा ओली झापामा छन्। ओली आफ्ना मतदातालाई रिझाउन भेटघाटलगात कार्यक्रममा व्यस्त छन्।

पार्टी घोषणापत्र सार्वजनिक गर्न केही दिनका लागि राजधानी आएका ओली त्यसपछि चुनावी सभामा सक्रिय हुने प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए। त्यस्तै इलाम १ बाट उम्मेदवारी दिएका पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि चुनाव प्रचारप्रसारमा सक्रिय छन्। इलाम २ बाट उम्मेदवारी दिएका सुवास नेम्बाङले कार्यकर्ता भेला र चुनावी सभा सुरु गरिसकेका छन्। ‘वाम गठबन्धनले संयुक्त रूपमा भेला आयोजना गरी निर्वाचन प्रचारप्रसार गरिरहेको छौं। दैनिक एउटा गाउँपालिकामा चुनावी सभा भइरहेको छु, नेम्बाङले भने।
पार्टीका वरिष्ठ नेता खनालको क्षेत्र र आफ्नो निर्वाचन क्षेत्रमा संयुक्त रूपमा निर्वाचन प्रचारप्रसार र सभा गर्ने योजना रहेको उनले जानकारी दिए। पार्टी उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो निर्वाचन क्षेत्र बर्दिया १ मा व्यस्त छन्। अछाम १ बाट उम्मेदवारी दिएका अर्का उपाध्यक्ष भीम रावल चुनावी मैदानमै छन्। रूपन्देही ३ बाट उम्मेदवारी दिएका पार्टीका उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी दर्तासँगै वडास्तरको भेलालाई अगाडि बढाएको बताए। ‘नेकपा माओवादी र नेकपा एमालेबीचका संयुक्त सभा कहाँकहाँ गर्ने त्यसको तयारी भइरहेको छु उनले भने। भुसालका अनुसार २२ कात्तिकपछि मात्रै बृहत् सभाहरू आयोजना हुनेछन्। अध्यक्षलगातका शीर्ष नेतालाई समेत प्रचारप्रसारमा निम्त्याउने उनले जानकारी दिए।
अर्का उपमहासचिव विष्णु पौड्याल निर्वाचनको प्रचारप्रसारमै छन्। रूपन्देही २ बाट उम्मेदवारी दिएका पौड्याल पनि उम्मेदवारी दर्तासँगै जिल्लामै चुनावी सभा र घरदैलोमा व्यस्त छन्। पार्टीका सचिव प्रदीप ज्ञवालीले चुनावी प्रसारप्रसार र घरदैलो अभियान सुरु गरेको बताएका छन्। गुल्मी १ बाट उम्मेदवारी दिएका ज्ञवाली प्रसारप्रसारका लागि औपचारिक रूपमा कार्यालय खडा गरी निर्वाचनमा होमिएका छन्।
तीनवटा वडास्तरका सभाहरू सम्पन्न भइसकेको उनले बताए। सुगम स्थानमा घरदैलो र दुर्गम स्थानमा गाउँपालिकास्तरका सभाहरू आयोजना गरी चुनाव प्रसारप्रसार गर्ने योजना उनको छ। पार्टी घोषणापत्रसँगै स्थानीय मतदाताको मन जित्न स्थानीय मुद्दाहरू समावेश गरिएको व्यक्तिगत प्रतिबद्धतापत्रहरूसँगै घरदैलोमा पुगेर मतदाताका गुनासा र समस्या सुन्ने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
त्यस्तै पार्टीका नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, रवीन्द्र अभिकारीलगायतका नेताहरू पनि उम्मेदवारी दर्तासँगै जिल्लामै प्रचारप्रसारमा खटिएका छन्। नेकपा माओवादीसँग चुनावी तालमेल गरेको नेकपा एमालले औपचारिक रूपमा पार्टीको साझा घोषणापत्र सार्वजनिक गरेको छैन। तर पनि नेताहरू पार्टीको एजेन्डा र स्थानीय विकासका मुद्दा लिएर मतदातासँग घरदैलोमा पुगेर मत मागिरहेका छन्।
पार्टीका प्रसार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टीले वाम गठबन्धनको संयुक्त रूपमा चुनावी प्रसारप्रसारका लागि साझा संयन्त्र तयार गर्ने कामलाई अगाडि बढाएको छ। ‘दुई दिनभित्रै पार्टीको साझा घोषणापत्र सार्वजनिक हुने र २५ कात्तिकबाट संयुक्त प्रसारप्रसारका कार्यक्रमले व्यापकता पाउनेछु, उनले भने। दुर्व पार्टीका अध्यक्षहरू चुनावी मैदानमा रहे पनि संयुक्त सभाका कार्यक्रम भने तय हुने सम्भावना कम रहेको एमाले पार्टीले जनाएको छ। ताप्लेजुङबाट देशमा मुख्यमुख्य सहरमा शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी चुनावी कार्यक्रम गर्ने भनिए पनि पछिल्लो समय त्यस्ता कार्यक्रम गर्न कठिनाइ परेको प्रचारप्रसार विभागका उपप्रमुख सूर्य थापाले बताए।अन्नपुर्ण मा समाचार छ ।