सम्पादकीय

प्रचार शैली फेरियो , एजेन्डा फेरिएन



काठमाडौं २४ कार्तीक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् । जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्न भएको यस निर्वाचनमा उम्मेदवारहरूले विगत २० वर्षदेखि उठाउँदै आएको पुराना एजेन्डालाई नै उठान गरेका छन् । निर्वाचन आयोगले उम्मेदवाहरूलाई पोस्टर र फ्लेक्स छाप्न तथा सार्वजनिक रूपमा राख्न प्रतिबन्ध लगाएपछि उम्मेदवाहरूले उच्चतम प्रविधिको प्रयोग गरेका छन् । उनीहरूले प्रविधिको प्रयोगसँगै निर्वाचनमा मतदान गर्ने विषयमा भने प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्न सकेनन् ।

निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिसँग प्रविधियुक्त मेसिनको प्रयोग गरेर मतदान गर्ने विषयमा छलफल गरेको थियो । राजनीतिक दलहरूले भोटिङ मेसिनप्रतिको विश्वास गर्न नसक्दा यस्तो समस्या आएको निर्वाचन आयोगको बुझाइ छ ।

‘२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं–१ मा भोटिङ मेसिनको प्रयोग भएको थियो,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘दलहरूको सहमति जुटेको भए यो निर्वाचनमा पनि भोटिङ मेसिन प्रयोग गर्न सकिन्थ्यो ।’दलहरू जनतामाझ आफ्ना एजेन्डा पस्किरहेका छन् । उनीहरूले आफ्ना प्रचार सामग्रीका रूपमा विगतको जस्तो पर्चा पोस्टरभन्दा पनि सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेका छन् । प्रचार शैलीलाई आकर्षित गर्न उम्मेदवारहरूले किसानका खेतबारीमा पुग्ने, धान काट्ने गर्नुका साथै जनतालाई फरक किसिमले प्रभावित पार्न खोजिरहेका छन् । उम्मेदवारहरूको प्रचारमा सामेल भएका नेता कार्यकर्ताहरूले पनि प्रचारलाई प्रभावकारी बनाउन विभिन्न सामग्रीहरू वितरणसमेत गरिरहेका छन् ।
प्रचारलाई नयाँ शैली अपनाउँदा निर्वाचन आचारसंहितासमेत बेवास्ता गरेको पाइएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरूले आफ्नो प्रचार शैलीलाई प्रभावकारी बनाउँदै गर्दा मतदानको प्रक्रियामा प्रविधिको प्रयोग गर्न सकेका छैनन् ।
सामाजिक सञ्जालमा उम्मेदवारहरूले मत माग्दै गरेका तस्बिरले पनि उम्मेदवारहरूको प्रचार शैलीलाई स्पष्ट पारेको छ । मतदातालाई प्रभावमा पारेर आफूतर्फ मत माग्ने काममा जुटेका उम्मेदवाहरू र अन्य नेताकार्यकर्ताले गरेका गतिविधिहरू प्रचारका लागि फरक होलान् तर उनीहरूको प्रचार शैली निर्वाचन आचारसंहिताविपरीत रहेको गुनासाहरू पनि निर्वाचन कार्यालयहरूमा आउने गरेको निर्वाचन आयोगले जनाएको छ ।राजधानी मा समाचार छ ।