काठमाडौं २६ कार्तीक । तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका कीर्तिनिधि विष्टको शनिबार बिहान साढे १० बजे निधन भएको छ । उनको ९० वर्षको उमेरमा ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी लामो समयदेखि क्यान्सर पीडित थिए । उनी करिब एक वर्षदेखि ओछ्यानमै आराम गरिरहेका थिए । जीवनको अन्तिम क्षणमा आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार राजकीय सम्मानविना शनिबार नै अन्त्येष्टि गरिएको छ ।
राष्ट्रवादी, विवादरहित छवि र साधारण जीवनशैली बिताउँदै आएका पूर्वप्रधानमन्त्री विष्टको निधनपछि शनिबार परिवारका सदस्यले आफन्त र शुभेच्छुकलाई खबर नै नगरी सामान्य तरिकाले आम सर्वसाधारण जस्तै गरी अन्त्येष्टि गरे ।
राजा महेन्द्रको शासनकालमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि राजा वीरेन्द्रको पालामा दुईपटक सरकारप्रमुख बनेका थिए । त्यसपछि राजा ज्ञानेन्द्रले उनलाई तुलसी गिरीपछि दोस्रो वरीयताका मन्त्रिपरिषद् उपाध्यक्ष बनाएका थिए ।
विष्टलाई पञ्चायतकालको निष्कलंक प्रधानमन्त्रीका रूपमा समेत हेरिने गरिएको छ । उनले कहिल्यै पद र प्रतिष्ठाको लोभ गरेनन् । २५ असार २०३० सालमा आगलागीमा परेर सिंहदरबार जलेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको विषयलाई अहिले पनि राजनीतिक इमानका रूपमा चर्चा हुने गर्छ ।
उनको यो निर्णयबाट राजा वीरेन्द्रले आश्चर्य प्रकट गरेका थिए । उनलाई राजीनामा फिर्ता गर्न भने पनि उनले घटनाको जिम्मेवारी लिँदै आफ्नो राजीनामा कायम राखेका थिए ।
डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेसबाट राजनीति सुरु गरे पनि २०१७ सालको परिवर्तनपछि उनी पञ्चायती राजनीतिमा संलग्न भएका थिए । परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै तीन पटक प्रधानमन्त्री भए । पञ्चायतकालमा अन्य प्रधानमन्त्रीहरू विवादमा आए पनि उनी विवादमा आएका थिएनन् ।
२०४६ सालको परिवर्तनपछि पञ्चायती प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपाको गठन भयो । तर विष्ट त्यसमा सामेल भएनन् । मातृकाप्रसाद कोइराला, श्रीभद्र शर्मालगायतले खोलेको राष्ट्रिय जनता परिषद्मा उनी संलग्न भएका थिए ।
उनी १९ माघ ०६१ को शाही शासनपछि राजा ज्ञानेन्द्रको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । तर, पदबाट हटेपछि कहिल्यै राजकीय सुविधाको माग गरेनन् । शारीरिक रूपमा तन्दुरुस्त रहँदासम्म उनलाई नक्साल, ज्ञानेश्वरलगायत क्षेत्रमा बिहानपख हिँडडुल गर्दा भेट्न सकिन्थ्यो ।
पूर्वप्रधानमन्त्री विष्ट २ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए । उनी २५ चैत २०२५ देखि ३१ चैत २०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख २०२८ देखि १ साउन २०३० सम्म दोस्रोपटक र ३० वैशाख २०३४ देखि १६ जेठ २०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीका रूपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो व्यक्ति हुन् ।
राजकीय सम्मानबिनै अन्त्येष्टि
पूर्वप्रधानमन्त्री विष्टलाई राजकीय सम्मानबिना नै शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्येष्टि गरियो । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाट अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । उनको पार्थिव शरीरमा उनका जेठा छोराले दागबत्ती दिए ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, पूर्वमन्त्री विश्वबन्धु थापा, एकीकृत राप्रपा राष्ट्रवादी का नेता प्रकाशचन्द्र लोहनीलगायत नेता, कार्यकर्ता, आफन्त पशुपति आर्यघाट पुगेका थिए । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्षअघि उनकी श्रीमती र एक छोराको निधन भएको थियो ।राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्