Banner News

वामपक्षीय उम्मेदवारमाथि ताकि–ताकि किन हुँदै छ आक्रमणमाःओली



काठमाण्डौं २८ कात्तिक । नेकपा एमालेले प्रदेश नम्बर एकका आफ्ना सहसंयोजक एवं भोजपुर १ प्रदेशसभाका उम्मेदवार शेरधन राईमाथि आज विहान भएको सांघातिक आक्रमण निर्वाचन भाँड्ने नियतले गरिएको भन्दै शान्तिपूर्ण र स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक वक्तव्य प्रकाशित गर्नुभई भन्नुभएको छ– ‘निर्वाचनको प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौ । यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरु नियन्त्रण गर्न सचेत गराउँछौ ।’

अध्यक्ष ओलीले बामपक्षीय उम्मेदवारहरुलाई सुरक्षा उपलब्ध नगराउने सरकारको उदासिनताप्रति आश्चर्य व्यक्त गर्दै भन्नुभएको छ– ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ । हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दर्छौ । र, घटनामा संलग्न दोेषीमाथि कडा कार्वाही गर्न आग्रह गर्दछौ ।’

अध्यक्ष ओलीले उक्त आक्रमणलाई गम्भीरतापूर्वक लिएको र राईका अंगरक्षक घाईते हुने गरी भएको आक्रमणको घोर निन्दा पनि गर्नुभएको छ ।