Banner News

भक्तपुरमा पनि बाम गठबन्धनबीचको विवाद सल्टियोः एकता संयोजन समिति गठन



भक्तपुर,२९कार्तिक । भक्तपुरमा उम्मेदवारी दर्ताका क्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचमा बढेको विवाद मिलेको छ ।
प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा मुलुकभर बाम गठबन्धन बनाई ६०–४० को भागबण्डा गरेकोमा भक्तपुरमा माओवादीको भागमा परेको निर्वाचन क्षेत्र नं १ प्रदेश १क चाँगुनारायणमा एमाले र माओवादी केन्द्र दुवैका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि गठबन्धन संकटमा परेको थियो ।
भक्तपुरमा विवाद बढ्दै गएपछि दुवै पार्टीको केन्द्रिय नेतृत्वले विवाद मिलाएर सहमती गर्न निर्देशन दिएपछि आज दुवै पार्टीको संयुक्त बैठक बसि ४ बुँदे सहमती भएको छ ।
सहमती अनुसार निर्वाचन क्षेत्र नं १ प्रदेश १क चाँगुनारायणमा नेकपा एमालेलाई समर्थन गर्दै माओवादी केन्द्रका उम्मेदवार डिपि ढकालले उम्मेदवारी फिर्ताको घोषणा गर्ने निर्णय गरिएको माओवादी केन्द्रका पोल्युटव्युरो सदस्य देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
संयुक्त बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवम् भक्तपुर इन्चार्ज सोम मिश्र र माओवादी केन्द्रको पोल्युटव्युरो सदस्य देवेन्द्र श्रेष्ठको संयोजकत्वमा एमालेको तर्फबाट १० र केन्द्रको तर्फबाट ७ गरि १७ सदस्यिय पार्टी एकता संयोजन समिति समेत गठन गरेको छ ।
दुवै पार्टीबिच भएको सहमतीले जिल्लामा देखिएको विवाद अन्त्य गर्नुका साथै भक्तपुरका दुवै निर्वाचन क्षेत्र र दुई क्षेत्रका ४ प्रदेशमा बाम गठबन्धनका उम्मेदवार बलियो बनेको एमाले नेता एवम् निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले बताए ।