सम्पादकीय

शृंखलाबद्ध विस्फोटमा सेनाको चासो, सुरक्षा दिन सक्रिय हुन्छौं : प्रधानसेनापति



काठमाडौं ४ मसीर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलक्षित वम विस्फोट र आक्रमणका घटना नरोकिए अन्तिम शक्तिका रूपमा रहेको नेपाली सेनाले मौन नबस्ने संकेत गरेको छ ।

चुनाव प्रचारमा रहेका उम्मेदवारमाथि निरन्तर बम आक्रमण भइरहेको घटनाप्रति जानकार रहेको बताउँदै सेनाले आक्रमणलाई मुुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृंखल क्रियाकलापको संज्ञासमेत दिएको छ । यस्ता घटनाले आफूहरूलाई सचेत रहन बाध्य तुल्याएको पनि सेनाले उल्लेख गरेको छ । आक्रमणका दोषीलाई कारबाही र घटना नियन्त्रणमा गृह प्रशासन असफल देखिँदै गएपछि सेनाले सक्रियता बढाउने संकेत गरेको हो । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना परिचालन हुनेछ,’ रक्षा मन्त्रालयमा आइतबार सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले भने, ‘पहिलो चरणको निर्वाचनका लागि सेना परिचालन भइसकेको छ, राजनीतिक आमसभाहरूमा भीडन्त भए, आक्रमण भए वा असहज परिस्थिति देखिए सेना स्थल वा हवाई दुवै रूपमा सक्रिय रहन्छ ।’

उनले निर्वाचनमा सेना तेस्रो घेरामा रहेको समेत स्पष्ट पारे । उनले सेनाले संविधान र कानुनले निर्दिष्ट गरेको जिम्मेवारी बहन गर्ने बताए । ‘निर्वाचन हुन नदिने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने समूहले यो विस्फोट गराएको हुन सक्छ, सम्बन्धित निकायबाट यो विषयमा प्रस्टीकरण आउला तर विस्फोट भएको विषयमा सेना जानकार छ,’ प्रधानसेनापति क्षेत्रीले भने ।

उनले अहिले उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको पनि स्पष्ट पारे । ‘आममतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्र छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ,’ प्रधानसेनापतिले भने । अहिलेसम्मको गृहकार्यअनुसार नेपाली सेनालाई मतदान केन्द्रसम्म र मतदाताको प्रत्यक्ष सम्पर्कमा जान नदिइने गरी सुरक्षा रणनीति बनेको छ । मतदान केन्द्रको करिब साढे दुई किमिको दूरीबाटै सेनाले सुरक्षा दिनेछ । मतदान केन्द्रबाहिर दोस्रो घेराको सुरक्षा सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्नेछ ।

यस्तै, निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसारपसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा लिनेछन् । दुवै प्रहरीले सुरक्षा दिन नसकेमा तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ । मतदान केन्द्रमा झडप, हुलदंगा वा ‘बुथ क्याप्चर’ को प्रयास भएमा सेना स्थिति नियन्त्रणमा नआउँदासम्म मतदान केन्द्रमा परिचालन हुनेछ र पुनः मतदान प्रक्रिया सुरु भएमा सेना पछि हट्नेछ । असामान्य अवस्थामा सेना मतदान केन्द्रसम्म जान भने प्रमुख जिल्ला अधिकारी वा निर्वाचन आयोगको अनुमति चाहिनेछ । राजधानीमा समाचार छ ।