काठमाडौं, १२ मंसिर। एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी गर्न कांग्रेस नेतृत्वलाई आफूहरुले घिसारेर ल्याएको खुलासा गर्नुभएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा वाम गठबन्धनको चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै ओलीले आफूहरु नपुगेका ठाउँमा कांग्रेस नेताहरु गएर हामीले संविधान ल्यायौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै ओलीले संविधान जारी गरेका बेलाको कांग्रेसको ब्यवहार साम्झिन आग्रह गर्नुभयो ।
‘त्यस्तै उस्तै ठाउँमा पुगेपछि कांग्रेसका नेताहरु संविधानका जनक हौं भनेजसरी प्रचार गर्दा रहेछन्’ ओलीले भन्नुभयो, ‘तपाईंहरुले विर्सनु भएको छैन, संविधान जारी गर्न कांग्रेसलाई हामीले घिसारेर ल्याउनु परेको थियो । कताबाट के निर्देशन आउँथ्यो, कांग्रेस औंठा लुकाएर भाग्थ्यो ।’
ओलीले अहिले देशले कता जाने भन्ने फैसला जनतासँग खोजिरहेको वताउँदै कांग्रेसको नेतृत्वमा देशले समृद्धि पाउन नसक्ने वताउनुभयो । ‘देशले यतिबेला फैसला खोजेको छ, अव देशलाई कता लैजाने रु’ ओलीले भन्नुभयो, ‘लामो समयसम्म देशले गतिलो नेतृत्व पाएन । होला होला जस्तो हुन्छ नागपासको खेलजस्तो माथि पुगेपछि तल झर्छ । कहिले तानाशाही फर्कियो कहिले अस्थिरता आयो ।’ ओलीले कांग्रेससँग बहुमत भएकै बेला ०७ सालमा आएको उपलब्धी १७ साल र ०४७ सालमा आएको उपलब्धी ५९ सालमा खेर गएको उदाहरण दिंदै अव कम्युनिस्ट पार्टी बलियो भएकाले उपलब्धी खेर नजाने वताउनुभयो ।
उहाँले कुनै बेला बीपी र गणेशमानले बनाएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस अव भर पर्न नसकिने र अविश्वसनीय अवस्थामा पुगेको वताउनुभयो । ‘बीपीले दुःख गरेर बनाउनु भएको गणेशमानजीले परिश्रम गरेर बनाउनु भएको पार्टी अहिले भर पर्नै नसकिने, विश्वास गर्नै नसकिने अवस्थामा पुगेको छ’ ओलीले भन्नुभयो, ‘कहिले पहाड र तराई अलग गर्नुपर्छ भन्छ, कहिले बहुराष्ट्रियता भन्नेसँग साँठगाँठ गर्छ । देशलाई माया गर्दैन, सानो स्वार्थ पूरा गर्न जे पनि गर्छ ।’
प्रतिक्रिया दिनुहोस्