काठमाण्डौ १५ मसीर । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको दोस्रो चरणअन्तर्गत काठमाडौं–१ मा नयाँ अनुहारहरू कांग्रेसको पुरानो किल्ला तोड्ने दाउमा छन् । यता कांग्रेस भने आफ्नो पुरानो साखलाई जोगाइराख्न दौडधुप गरिरहेको छ । कांग्रेस पूर्वमहामन्त्री तथा काठमाडौं–१ का उम्मेदवार प्रकाशमानसिंह दिनहुँजसो चुनावी अभियान चलाइरहेका छन् । उता वाम गठबन्धनका तर्फबाट युवा उम्मेदवार अनिल शर्मा र विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्र पनि आफ्नो जितको दाबी गर्दै चुनावी अभियानमा छन् ।
४२ हजार ४ सय ३० मतदाता रहेको काठमाडौं–१ मा २२ वटा मतदानस्थल कायम रहेका छन् । यस क्षेत्रमा ७ स्वतन्त्रसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यीमध्ये नेपाली कांग्रेसका सिंह, वाम गठबन्धनका शर्मा र विवेकशील साझा पार्टीका मिश्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यी तीनै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा प्राप्त मतलाई हेर्ने हो भने यी तीन उम्मेदवारबीच खासै ठूलो अन्तर देखिँदैन । काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडा रहेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा तीन वडामा नेपाली कांग्रेसले बहुमत सदस्यसहित वडाध्यक्ष जितेको थियो । ३१ नम्बर वडामा भने एमाले विजयी भएको थियो ।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले ८ हजार ८ सय ४२ मत ल्याउँदा एमालेले ८ हजार ७ सय १४ मत, माओवादी केन्द्रले २ हजार २ सय ७४ मत ल्याएको थियो । यो मत जोड्दा वाम गठबन्धनको पक्षमा १० हजार ९ सय ८८ हुन्छ । जुन कांग्रेसको भन्दा २ हजार १ सय ४६ मत बढी हो । यो मत वडाध्यक्षले पाएको मत हो । तर काठमाडौं महानगरको प्रमुख पदमा यस क्षेत्रका चार वडाबाट विवेकशील साझा पार्टीलाई अरू सबै दलभन्दा बढी मत प्राप्त भएको थियो ।
स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा होमिएको विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले पाएको मत जोड्दा सबै दलको भन्दा बढी मत विवेकशील साझा पार्टीले पाएको देखिन्छ ।वडामा उम्मेदवार नउठाएका यी दल अहिले एक भएका छन् । वडामा अन्य दलका उम्मेदवारलाई मत हालेका मतदाताले प्रमुख र उपप्रमुखमा भने विवेकशील र साझाका उम्मेदवारलाई रोजेका थिए ।
यसलाई हेर्दा पनि यहाँका मतदाता परिवर्तन चाहने र चलायमान देखिन्छन् । तर कांग्रेस भने यो मान्न तयार देखिन्न । स्थानीय तहको मतले प्रतिनिधिसभा निर्वाचनमा कुनै असर नपर्ने उसको दाबी छ ।
‘यहाँ मेरै जित हुन्छ, स्थानीय तहको निर्वाचनलाई हेरेर हुँदैन,’ कांग्रेस उम्मेदवार सिंहले भने, ‘कांग्रेसको संगठन बलियो भएको क्षेत्र र यहाँको पुरानो अनुहार भएको नाताले पनि मतदाताको रोजाइमा म नै पर्छु ।’
विगतका दुईवटा संविधानसभा निर्वाचन जितेका उनले यसपटक पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै आएका छन् । सिंहले पहिलो संविधान सभामा निर्वाचनमा १४ हजार ३ सय १८ मत ल्याई एमाले नेता प्रदीप नेपाललाई हराएका थिए । उनले दोस्रो संविधानसभा निर्वाचनमा १५ हजार १ सय ३९ मत ल्याएर माओवादी केन्द्रकी रेणु दाहाललाई पराजित गरेका थिए ।
उनलाई यस पटक स्थानीय नेता हरिबोल भट्टराईले चुनौती थपेका छन् । अघिल्ला निर्वाचनमा सिंहका सारथि उनी अहिले बीपी कांग्रेस गठन गरेर सोही दलबाट उम्मेदवार बनेका छन् ।
कांग्रेसको पुरानो गढ भत्काउने होडमा गठबन्धनका शर्मा र विवेकशीलका मिश्रलाई हरिबोलको उम्मेदवारीले सहज बनाएको विश्लेषण गरिएको छ ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्मा विद्यार्थी राजनीतिबाट आएका हुन् । उनको बाहिर त्यति चर्चा नभए पनि उनी वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको हवाई पत्र मतदातालाई बाँड्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । बिहान सबेरैदेखि साँझ अबेरसम्म उनी चुनावी अभियान तथा घरदैलो कार्यक्रममै व्यस्त छन् ।
मंगलबार मात्र गठबन्धनले बानेश्वरमा चुनावी सभा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको पक्षमा मत मागे । उनको प्रचारमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता घरदैलोमा लागिरहेका छन् । उनले मतदाताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफ्नो जित भइसकेको भन्नसमेत भ्याए । ‘हाम्रो पक्षमा जनआधार राम्रो छ, मतदाताहरू मेरो पक्षमा छन्, हाम्रो जित भइसक्यो, घोषणा हुन मात्र बाँकी छ,’ शर्माले भने ।
यता विवेकशील साझा पार्टीका उम्मेदवार मिश्र भने यस क्षेत्रका चलायमान मतदाताले यसपटक आफूलाई रोज्नेमा ढुक्क देखिन्छन् । स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीले पाएको मतले उनको आत्मविश्वास बढाएको छ नै, त्यसभन्दा पनि उनी घरदैलोबाट उत्साहित भएको बताउँछन् ।
‘यहाँका मतदाताले हामीलाई मत दिन प्रतिबद्धता जाहेर गर्नुभएको छ,’ मिश्रले भने, ‘यहाँका मतदाता चलायमान हुनुहुन्छ, परिवर्तन चाहनुहुन्छ, मलाई नै मत दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्