चितवन, १६ मंसिर । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताउनुभएको छ ।
‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताउनुभयो ।
जनयुद्ध शुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएका बताउँदै उहाँले यो विचित्रको कुरा भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्को पक्ष विचलित जस्तो नकारात्मक तरंग देख्छु ।
उहाँले अगाडि थप्नुभयो “एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्कोतिर तिनै साथीले कम्युनिष्ट एकता हुनै सक्दैन, भए पनि टिक्दैन चुनावपछि भाँडभैलो हुन्छ भनिरहेका छन् । पार्टी एकतामा शंका नगर्न आग्रह गर्दै दाहालले भन्नुभयो “अब एकतालाई कसैले रोकेर रोकिँदैन । जस्तोसुकै तरंग आए पनि नेपालमा वामपन्थीको सरकार आउने र त्यसलाई राष्ट्रलाई समाजवादतर्फ लैजाने उहाँको भनाइ थियो ।
बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताउँदै दाहालले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो । विभाजित काँग्रेस पनि एक हुँदा राम्रो हुने बताउँदै दाहालले भन्नुभयो– विभाजित काँग्रेस पनि सबै एकै ठाउँमा आउन जरुरी छ ।
अहिलेको काँग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट काँग्रेस विचलित भएकाले उहाँहरुले गल्ती गर्नुभयो भन्ने मेरो आरोप छ ।
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्ने भन्दै दाहालले भन्नुभयो– यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस् ।
भोलि देशमा अलकादवादी, विखण्डनवादी धार आयोभने काँग्रेससँग मिलेर लड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “काँग्रेस पनि देश टुक्रियोस् भन्ने चाहनुहुन्न, त्यतिबेला राष्ट्रको एकता र स्वाधीनताका लागि लड्नुपर्छ ।
चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका दाहालले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो लडाइँमा सत्यको विजय अवश्य हुन्छ ।
प्रतिक्रिया दिनुहोस्