सम्पादकीय

शीर्ष नेतालाई मोदीको बधाई, ओलीलाई भने– सरकार गठनलगत्तै स्वागत गर्न आतुर छु



काठमाण्डौ ७ मसीर । प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएका छन् ।

तीन जना नेतालाई बिहीबार टेलिफोन गर्दै बधाई दिएका मोदीले एमाले अध्यक्ष केपी ओलीलाई सरकार गठनलगत्तै स्वागत गर्न आतुर रहेको बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार मोदीले ओलीलाई बधाई दिँदै स्वागतका लागि आतुर रहेको बताएका हुन् । ओलीसँगको संवादमा मोदीले नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेकोसमेत बताएका थिए ।

नेपालमा वाम गठबन्धनको जितसँगै भारतीय सञ्चारमाध्यम र ‘थिंक ट्यांक’हरूले वामपन्थी सरकार र भारतबीचको सम्बन्धबारे अड्कलबाजी, दाबी र समीक्षा गरिरहँदा मोदीले एकै दिन तीनै जना शीर्ष नेतालाई फोन गरी बधाईसँगै नयाँ सरकारको नेतृत्वलाई स्वागत गर्न आतुर रहेको बताएका हुन् ।

ज्ञवालीले विज्ञप्तिमार्फत मोदीले वाम गठबन्धनको जितले नेपालमा स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास आफूले लिएको बताएको जनाएका छन् । ‘उहाँ ९मोदी० ले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँ ९ओली० लाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभयो,’ ओली–मोदी फोनवार्तालाई उद्धृत गर्दै ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जवाफमा ओलीले आफ्नो ध्यान स्थायित्व लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । ज्ञवालीका अनुसार ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै सरकार गठनलगत्तै औपचारिक निमन्त्रणापत्र पठाइने बताएका थिए । ज्ञवालीका अनुसार ओलीले पनि गुजरातलगायतका प्रान्तमा भर्खरै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि मोदीलाई बधाई दिएका छन् ।

ज्ञवालीले फोन संवादलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिअनुसार ओलीले मोदीलाई ‘खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने’ बताएका छन् ।
भारतीय विदेश मन्त्रालयको साप्ताहिक ‘प्रेस ब्रिफिङ’मा भारतीय विदेश मन्त्रालायका प्रवक्ता रविसकुमारले प्रधानमन्त्री मोदीले नेपालका नेताहरूसँग कुराकानी भएको बताए । ‘के विषयमा कुराकानी भयो भन्ने जानकारी छैन,’ प्रेस ब्रिफिङमा उनले भने, ‘कुराकानी भएको जानकारी मात्र प्राप्त भएको छ ।’

फोनमा मोदीले प्रधानमन्त्री देउवालाई निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । फोनमा मोदीले निर्वाचन ऐतिहासिक भएको र यसले लामो समयदेखिको राजनीतिक संक्रमणकाल अन्त्य गरेको बताए ।

संविधानसभाले बनाएको संविधान कार्यान्वयनका लागि भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने ठूलो जिम्मेवारी पूरा गरेको भन्दै मोदीले देउवालाई बधाई दिएको प्रेस सल्लाहकार परियारले जानकारी दिए । मोदीले नेपालको विकास र समृद्धिका लागि भारत सदैव साथमा रहेको समेत बताएका थिए ।

यसैगरी, मुलुकको राजनीतिक संक्रमणकाल अन्त्य गर्न भएका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरेको भन्दै मोदीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई बधाई दिएका छन् । दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले बिहीबार अपराह्न साढे ४ बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकोमा बधाई दिएका हुन् ।

टेलिफोनमा अध्यक्ष दाहालले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे समेत कुराकानी भएको तिमिल्सिनाले बताए ।रजधानीमा समाचार छ ।