Banner News

दाहाल भन्नुहुन्छ : राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन



चितवन ९ पुष । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताए ।

एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उनले भने, दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन । संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै नेता दाहालले भने, पछि हट्ने विकल्प छैन ।

उनले हिजो शनिबार र आजआइतबार बिहान पनि आफूले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कसरी छिटो पार्टी एकता गर्ने भन्ने विषयमा छलफल गरेको जानकारी दिए ।

उनले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताए । उनले भने, काँग्रेसको प्रतिनिधित्व नहुँदा वामपन्थीका लागि पनि खुशीको कुरा होइन, प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता लिन्छ ।