सम्पादकीय

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा



नेपालगन्ज १४ पुष । पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी निजी भ्रमणको सिलसिलामा बिहीबार साँझ बाँकेको नेपालगन्जमा आइपुगेका छन् । मध्य तथा सुदूरपश्चिमका धार्मिक एवं पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह बाँकेमा आएको स्वागत समितिका संयोजक अधिवक्ता दीपक सिंहले जानकारी दिए । पत्नी कोमल र बुहारी हिमानीका साथमै आएका पूर्व राजा शाहको एक साता लामो भ्रमण तालिका रहेको बताइएको छ ।

पूर्वराजा शाह बिहीबार राँझा विमानस्थलमा पुगेपछि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऔं’ नारा लगाउँदै पूर्वपञ्च तथा शिव सेना तथा धार्मिक संगठनलगायतका व्यक्ति तथा राप्रपाका नेता तथा कार्यककर्ता र राजाका समर्थकहरूको सहभागिता रहेको समूहले पूर्वराजा शाहको परिवारलाई बाँकेमा स्वागत गरेको थियो ।

पूर्वराजा शाहको स्वागतका लागि गठित स्वागत समितिका संयोजक अधिवक्ता दीपक सिंह, अभिनेता भुवन श्रेष्ठ, मख्खन नाग, राप्रपा पार्टीका महामन्त्री तथा नेपालगन्ज उपमहानगरका प्रमुख डा। धवलशमशेर राणा, उपप्रमुख उमा थापामगर, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, ऋषि देवकोटा, तेज विक्रम शाहलगायतले पूर्वराजालाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।

बिहीबार साँझ ५ बजे विमानस्थलमा पुगेका शाहको स्वागतका लागि राजावादीहरूले संगठित रूपमा बिहीबार दिउँसो ३ बजदेखि स्वागतका लागि विमानस्थलबाहिर लाम लागेका थिए ।

शाह निकट स्रोतका अनुसार शुक्रबार बिहान बाँकेमा रहेको पश्चिम क्षेत्रको प्रशिद्ध हिन्दूहरूको धार्मिक क्षेत्र बागेश्वरी माताको दर्शन गर्ने कार्य तालिका रहेको छ । पूर्वराजा आउने भएपछि बिहीबार बिहानैदेखि नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । पारिवारिक रूपमा धार्मिक भ्रमण भने पनि पूर्वराजाले बाँकेमा निर्माण सम्पन्न भएको एक होटल उद्घाटन गर्न बाँकेमा पुगेको बताइएको छ ।

हालै मात्र सञ्चालनमा आएको सोल्टी सिविक्रम होटल एन्ड रिसोर्टलाई पूर्वराजाले अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पूर्वराजपरिवारको लगानी रहेको भनिएको ८१ कोठे यो चारतारे होटल ३ वर्षअघिदेखि निर्माण सुरु भएर भर्खर मात्रै सञ्चालनमा आएको हो । पूर्वराजा शाहका साथमा पत्नी कोमल राज्यलक्ष्मी शाह, बुहारी हिमानी राज्यलक्ष्मी शाह र छोरी प्रेरणा छन् ।राजधानीमा समाचार छ ।