Banner News

आयोगले भन्यो– अब प्रदेश प्रमुख चाहियो



काठमाडौं १५ पुष । राष्ट्रिय सभा निर्वाचनको गाँठो फुकेसँगै निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । अध्यादेश जारीसँगै राष्ट्रिय सभा निर्वाचन नियमावली र निर्देशिका निर्माणमा जुटेको आयोगले प्रदेश निर्वाचन परिणाम घोषणा गर्न ढिलाइ भएको भन्दै प्रदेश प्रमुखको गाँठो फकाउन आग्रह गरेको हो ।

प्रदेश प्रमुख अभावमा राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने प्रतिनिधि चयनमा समस्या आउने भन्दै आयोगले प्रधानमन्त्रीलाई भेटेर प्रमुख नियुक्ति प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भएको भेटमा आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवसहितको आयोग पदाधिकारी टोलीले राष्ट्रिय सभा निर्वाचनअघि प्रदेश प्रमुख तोक्न सरकारसँग माग गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो राष्ट्रपतिले राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी गरेसँगै राष्ट्रिय सभा निर्वाचनका लागि बाटो खुलेको भन्दै आयोगका प्रमुख आयुक्तसहितको टोलीलाई निर्वाचनको मितिलगायतका विषयमा छलफल गर्न भन्दै बालुवाटार बोलाएका थिए ।

कुराकानीका क्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा भएको ३० दिनभित्र निर्वाचन सम्पन्न गर्न सकिने भन्दै पहिले प्रदेश प्रमुख नियुक्त गरेर तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभा निर्वाचनको मितिका विषयमा चासो राख्नुभयो । हामीले मिति घोषणा भएको ३० दिनमा निर्वाचन गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं । त्यसअघि प्रदेश प्रमुख तोक्न आयोगले प्रधानमन्त्रीज्यूलाई आग्रह गरेको छ,’ आयुक्त पौड्यालले राजधानीसँग भने, ‘प्रधानमन्त्रीले छिट्टै हुन्छ भन्ने जवाफ दिनुभयो ।’

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवाले निर्वाचनको मिति घोषणाका विषयमा छलफल गरेको बताए । ‘प्रधानमन्त्रीज्यूले अध्यादेश पारित भएपछि निर्वाचनको बाटो खुलेको भन्दै मितिका विषयमा आयोगसँग परामर्श गर्नुभएको हो, आयोगलाई मितिका विषयमा सुझाव दिन भन्नुभएको छ,’ उनले भने ।

आयुक्त पौड्यालले राष्ट्रपतिबाट अध्यादेश जारी भएको हुँदा अब आयोगले निर्वाचनसम्बन्धी नियमावली र निर्देशिका बनाउनेतर्फ ध्यान दिने बताए । उनले केही दिनभित्रै अध्यादेश राजपत्रमा प्रकाशित हुने र त्यसपछि आयोगले नियमावली तथा निर्देशिका तयार गर्नतर्फ केन्द्रित हुने जानकारी दिए ।

यसैबीच, कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारले आयोगसँगको परामर्शबाट नै निर्वाचनको मिति तय गर्ने बताए । उनले निर्वाचनको मिति र प्रदेश प्रमुख दुवै अबको आवश्यकता भएको भन्दै त्यसतर्फ अध्यादेश जारी भएसँगै प्रक्रिया सुरु भएको बताए ।राजधानीमा समाचार छ ।