काठमाडौं १८ पुष । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कान्तिपथस्थित आयोगको कार्यालयमै पुगेर सोमबार वाम गठबन्धनका नेताले मतगणना सकेको एक महिना बितिसक्दा पनि सिट बाँडफाँट सार्वजनिक नभएको भन्दै प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट तत्काल सार्वजनिक गर्न ध्यानाकर्षण गराएका हुन् ।
एमाले उपाध्यक्ष भीम रावलले आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहित आयुक्तहरूलाई भेटेर प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट सार्वजनिक गर्न ध्यानाकर्षण गराएको बताए । मतगणना सकेको लामो समय भए पनि आयोगले सिट बाँडफाँट सार्वजनिक नगरेपछि वाम गठबन्धनले ध्यानाकर्षण गराएको उनले बताए ।
‘मतगणना सकेको लामो समय बितिसक्यो तर समानुपातिकतर्फको सिट बाँडफाँट सार्वजनिक भएको छैन,’ रावलले भने, ‘एमाले र माओवादी केन्द्रको संयुक्त टोलीले आयोगसँग सोही विषयमा छलफल गरेर तत्काल समानुपातिकतर्फको सिट बाँडफाँट सार्वजनिक गर्न ध्यानाकर्षण गराएको हो ।’ वाम गठबन्धनको टोलीले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट राष्ट्रिय सभाको निर्वाचनसम्म नलम्ब्याउनसमेत आग्रह गरेको छ । सिट संख्या बाँडफाँट सार्वजनिक गर्न कुनै कानुनी अवरोध भए त्यसलाई संवैधानिक अंगका रूपमा फुकाएर अगाडि बढ्नुपर्ने सुझाव आयोगलाई नेताहरूले दिएका छन् ।
निर्वाचन आयोगले जनमत रोक्नतिर लाग्न नहुने बताउँदै रावलले मतपरिणामका आधारमा सिट बाँडफाँट लम्ब्याउन नहुने बताए । निर्वाचनको मतपरिणामलाई कागजको खोस्टोका रूपमा मात्र नबुझ्न उनले आग्रह गरे ।
‘निर्वाचनको मतपरिणाम सार्वजनिक भएर सिट बाँडफाँट सार्वजनिक गर्न कानुनमा कुनै बाधा छ भने त्यो अड्चन फुकाएर भए पनि सिट संख्या बाँडफाँट सार्वजनिक गर्नुपर्छ,’ रावलले भने, ‘निर्वाचनको मतपरिणामपश्चात् सिट संख्या बाँडफाँट सार्वजनिक नगर्दा उत्पन्न हुने परिणामलाई कल्पनासमेत गर्न सकिँदैन, यसले लोकतन्त्र नै खतरामा पर्छ ।’
निर्वाचन सम्पन्न भएर मतगणना सकेपश्चात् त्यसको सिट बाँडफाँट सार्वजनिक गर्न संविधानमा कुनै बाधा अड्चन भए त्यसलाई संवैधानिक निकायको हैसियतले निर्वाचन आयोगले पहल लिनुपर्ने सुझाव आफूहरूले दिएको उनले बताए ।
आइतबार काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको निर्वाचनपश्चात मात्रै समानुपातिकतर्फको मतपरिणामको सिट बाँडफाँट सार्वजनिक गर्ने बताएका थिए ।
निर्वाचनबाट प्राप्त जनादेशलाई रोक्ने र सरकार गठनको बाटो अवरुद्ध पार्ने परिकल्पना पनि कसैले गर्न नहुने बताउँदै रावलले निर्वाचन भएर मतगणना सम्पन्न भएपछि सिट बाँडफाँट घोषणा रोक्न नमिल्ने बताए । यस्तै, वाम गठबन्धनका नेताले राष्ट्रिय सभाको निर्वाचन छिटो घोषणा गर्नुपर्ने मागसमेत आयोगसँग गरेका छन् ।
वाम गठबन्धनका नेतासँग छलफल गरेका आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले समानुपातिकतर्फको सिट वाँडफाँट आयोगले तत्काल गर्ने बताएका छन् ।आयोगले सिट बाँडफाँट सार्वजनिक गर्ने तयारीमा लागेको जानकारी दिँदै उनले सिट बाँडफाँट सार्वजनिक गर्न आयोग सकारात्मक रहेको बताए ।
एमाले नेता रावलसहित सुवासचन्द्र नेम्वाङ, अग्नि खरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेता आयोग कार्यालय पुगेका थिए । यसैबीच एमाले र माओवादी केन्द्रका विद्यार्थी तथा युवा संगठनहरूको संयुक्त टोलीले सोमबार नै आयोगलाई एक ज्ञापनपत्र दिँदै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउन माग गरेका छन् ।
युवा संघ नेपालप, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र वाईसीएलका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका छन् ।
वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली कांग्रेसको निर्देशनमा गठबन्धन छुटाउने र नयाँ सरकार गठन गर्न नदिने आरोप लगाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिनका लागि अन्तिम परिणाम सार्वजनिक गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।
युवा विद्यार्थी संगठनको ज्ञापनपत्र बुझेपछि आयोगका प्रमुख निर्वाचन आयुक्त डा। यादवले संवैधानिक र कानुनी जटिलताले केही ढिला भएको स्वीकार्दै दलहरूले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने व्यवस्थाले गर्दा निर्धारित समयमै काम गर्न नसकेको बताए ।राजधानी बाट ।
प्रतिक्रिया दिनुहोस्