सम्पादकीय

सरकार गठनअघि पार्टी एकता



काठमाडौं २१ पुष । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकार निर्माणअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सरकार निर्माण गरेर पार्टी एकता गर्ने तयारी भए पनि अब सरकार गठनको समय धकेलिने देखिएकाले पहिला पार्टी एकता गरेरै जाने उनले बताए ।

८ करोड सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटब्युरो सदस्य २१ भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटी बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री को हुने भन्ने विषयले पार्टी एकता प्रभावित हुँदैन,’ नेपालले भने, ‘सांगठनिक संरचना छोटो एवं प्रभावकारी बनाएर पार्टी एकता हुन्छ, यस विषयमा वाम गठबन्धनका बीचमा गहन रूपमा छलफल चलिरहेको छ ।’

भियतनामको कम्युनिस्ट पार्टीको समेत उदाहरण दिँदै उनले भने, ‘पदका लागि मारामार गर्ने होइन, संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्छ, त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’‘जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौं,’ नेपालले भने, ‘माओवादीले पनि २१औं शताब्दीको जनवाद भनिसकेको छ, संविधानमा उल्लेख गरेअनुसार समाजवाद उन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो ।’
‘मीठो खान भात, तरकारी, दाल, माछा, मासु सबै पाक्नुपर्छ, हतार गरेर हुँदैन,’ माओवादी नेतालाई हतार नगर्न आग्रह गर्दै नेपालले भने ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा बढेको चर्चाकै बीच वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष र सरकारको नेतृत्वको विषयले पार्टी एकता प्रभावित नहुने बताएका छन् । आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गर्दै चाँडै एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता हुने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सांगठनिक संरचना सानो एवं प्रभावकारी बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा वाम गठबन्धनको बीचमा गृहकार्य भइरहेको बताए । एमाले नेताहरू पद छोड्न र दिन तयार हुने बताउँदै उनले एमालेमा त्यागको भावना रहेकाले पदीय भागबन्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । जनताको जनादेशअनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
सरकारको नेतृत्वको विषयमा विवाद नहुने दाबी गर्दै नेपालले नेतृत्वका लागि समेत तानातान नहुने बताए । एमाले र माओवादीबीच लडाइँ होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरू परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न सुझाब दिए ।
चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादी केन्द्रले त्यहीअनुसार सोचेको उनको भनाइ थियो । ‘अनावश्यक प्रचार र दबाब सिर्जना गरेर केही हुँदैन, प्रधानमन्त्रीका लागि कुनै समस्या छैन,’ नेपालले भने ।
उनले नेताको व्यवस्थापनका कारण एकतामा ढिलाइ भएको टीकाटिप्पणीमा सत्यता नभएको बताउँदै भने, ‘दाहाल, ओली, खनाल, वामदेव, नारायणकाजी, बादलजीलगायत सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ ।’
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै हुन सक्ने सम्भावना बढिरहेको नेपालको भनाइ थियो । तर, माओवादीसँग पनि छलफल हुने उनले बताए । आफूले संगठन विस्तारमा लाग्ने र पार्टीलाई बलियो बनाउने अभियानमा जुट्ने उनले बताए ।
माओवादी अध्यक्ष दाहालको पनि उचित व्यवस्थापन गरिने बताउँदै उनले संस्थागत निर्णय गर्न कम्युनिस्टहरू सिपालु हुने र संगठन परिचालन र जनचेतना विस्तारका लागि कसैले सिकाउनु नपर्ने बताए ।
चुनाव हारिसकेपछि पनि सरकार छोड्न नचाहेको भन्दै उनले आपत्ति जनाएका छन् । कांग्रेस जहिल्यै पनि कुर्सी छोड्न आलटाल गर्छ, नानीदेखि लागेको बानी अझै हटेको छैन्, यो अत्यन्तै गलत सोच रहेको नेपालले बताए ।
शेखर, रामचन्द्र र देउवालाई आत्तिनुपर्दैन, रोग लाग्ला, कम्तीमा अब पाँच वर्ष धैर्य गरेर बस्नुपर्ने सुझाव उनले दिए । वाम गठबन्धन फुटाएर आफू सरकारमा जाने कुरा दिवा सपना भएको उनले बताए । नेता नेपालले वाम गठबन्धनको सरकारले भारत र चीन दुवै छिमेकी मुलुकसँग निकटताको सम्बन्ध स्थापित गर्ने बताए । आन्तरिक मामलामा हात नहालून् भन्ने मात्रै आफूहरूको चाहना रहेको बताउँदै उनले निर्णय गर्ने अधिकारमाथि हस्तक्षप गरे सैह्य नहुने बताए ।
चीनको पक्षमा गठबन्धनको सरकार जाला भनेर आशंका नगर्न उनले आग्रह गरेका छन् । सबै देशसँग आवश्यकताअनुसार आर्थिक, कूटनीतिक सम्बन्ध स्थापित गर्ने उनले बताए ।राजधानीमा समाचार छ ।