Banner News

४० वर्षको रेकर्डः यस कारण हुँदै छ तापक्रममा अस्वाभाविक घटबढ



काठमाडौ,२४ पुस । केही समययता एकै समयमा न्यूनतम र अधिकतम तापक्रममा अस्वाभाविक घटबढ हुने गरेको छ । ४० वर्ष यताको रेकर्ड हेर्दा हिउँदमा न्यूनतम तापक्रममा ठूलो घटबढ भएको देखिन्छ ।

आइतबार उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री रह्यो भने जुम्लामा ८।७ डिग्रीमा पुग्यो । जल तथा मौसम विज्ञान विभागको रेकर्ड हेर्दा ०५६ माघ २ मा जुम्लाको तापक्रम माइनस १३।८ डिग्री र उपत्यकामा ०३४ पुस १७ मा न्यूनतम तापक्रम ३।५ पुगेको थियो । विश्वव्यापी रूपमा पृथ्वीको तापक्रम बढे पनि समय र मौसमअनुसार तापक्रममा घटबढ हुने गरेको जल तथा मौसस विज्ञान विभागको भनाइ छ । तापक्रम घटबढ हुनुमा सहरी क्षेत्रमा कार्वनजन्य वस्तु उत्सर्जन हुनु नै मुख्य कारक रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिए ।

सवारी प्रदूषण, कोइला, पेट्रोलियम र ग्यास प्रयोग गरी घरलाई न्यानो राख्नेदेखि औद्योगिक उत्पादनमा प्राकृतिक इन्धन प्रयोग गर्ने क्रम बढ्नुले तापक्रम घटबढ हुने गरेको उनको भनाइ छ ।

हरितगृहमा ६५ प्रतिशत प्रभाव पर्नुमा कार्बनडाइअक्साइड नै कारक रहेको अध्ययनले देखाएको छ । प्रतिवेदन हेर्दा सय वर्षमा पृथ्वीको सतहको औसत तापक्रम झन्डै ०।८ डिग्री सेल्सियस बढेको देखिन्छ । यता, ६ हजारदेखि ९ हजार मिटर उचाइसम्मको हिमाली क्षेत्रमा न्यूनतम तापक्रम माइनस ३६ डिग्री सेल्सियससम्म पुगेको छ ।

०५६ सालअघि बढी चिसो भएका क्षेत्रमा त्यसयताको समयमा तापक्रममा तलमाथि हुने गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले बताइन् । ‘०५६ अगाडि न्यूनतम तापक्रम बढेको थियो ०५७ र ०६६ मा पनि न्यूनतम तापक्रम बढेको तथ्यांक छ’, उनले भनिन् ।

माघ पहिलो सातासम्म न्यूनतम तापक्रम घट्ने समय भएकाले अझै चिसो बढ्ने उनको अनुमान छ । न्यूनतम तापक्रमलाई एकरुपता ल्याउन वायुप्रदूषण नियन्त्रण र वातावरण अनुकूल हुने गरी उद्योग, कल कारखाना, इलेक्ट्रिक यातायातका साधनको प्रयोग, कार्वनजन्य वस्तुको कम प्रयोग, वन क्षेत्रको विकास गर्नुपर्ने वातावरणविद्को सुझाव छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार जाडोका कारण ६ जनाको मृत्यु भइसकेको छ । विभागको तथ्यांक हेर्दा उपत्यकामा २०६९ मा माइनस २ डिग्री, २०७३ माघ १ मा उपत्यकामा शून्य दशमलव ४ डिग्री, २०७२ पुस ९ मा शून्य, २०७१ पुस २६ मा १।५ डिग्री थियो । एकै समयमा तापक्रम घटबढ हुने गरेको रेकर्डबाटै स्पष्ट देखिन्छ ।

पश्चिमी वायुले बनाउने न्यूनचापीय रेखा र क्षेत्रका कारण चिसो बढ्ने र हिमपात हुने विभागको अनुमान छ । ‘हिमपात नभए पनि चिसो बढ्ने र चिसो बढेपछि हिमपात हुने’ महाशाखाको भनाइ छ । विभागले हिमपात, चिसो, मनसुनी खतरा देखिए जानकारी दिने काम गर्दै आएको छ ।

मौसमको प्रत्येक वर्ष भएका उतार चढावको ३० वर्षसम्मको अवस्था हेर्दा तापक्रममा बढ्दो अवस्थामा छ । तर, तराईमा हिउँदमा तापक्रम ह्वात्तै घटेको छ । हिउँद र बर्खामा न्यूनतम र अधिकतम तापक्रममा एकरुपता नहुँदा तराईमा शीतलहर र पहाडी क्षेत्रमा हिमपात हुने गरेको मौसमविद् वरुण पौडेलले बताए ।

भौगोलिक बनावटले फरक पार्दा हिमाली क्षेत्रमा ४ गुणा तापक्रम बढेको छ । मापनकेन्द्र सहर र बाक्लो मानव बस्तीमा केन्द्रित हुँदा न्यूनतम तापक्रमको तथ्य मापन हुन सकेको छैन । चिसोको स्तर र काठमाडौंको बिहानीपख परेको तुषारो हेर्दा तापक्रम अझै कम हुनुपर्ने मौसमविद् बताउँछन् । अन्नपूर्ण पोष्ट