Banner News

अन्तत अस्थायी मुकाम संगै सातै प्रदेशका प्रदेश प्रमुख तोकिए



काठमाडौ,३ माघ । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।
प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान ९ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेका लागि सरेको थियो ।

उद्योग मन्त्री सुनिलबहादुर थापाले प्रदेश १ को अस्थायी मुकाम धनकुटा बनाउन माग गरेका थिए । प्रदेश ३ को ललितपुर र हेटौंडामध्ये कहाँ बनाउने भन्ने विवाद थियो ।

प्रदेश ५ को दाङ र रुपन्देही, प्रदेश ७ मा कैलाली र दिपायलमध्ये कहाँ बनाउने भन्ने विवाद थियो । दाङमा प्रदेश अस्थायी मुकाम माग गर्दै बुधबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ ।

त्यस्तै प्रदेश ७ को अस्थायी मुकाम दिपायल तोक्न माग गर्दै डोटीमा पनि आन्दोलन भएको छ ।