भक्तपुर, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ घण्टा लामो भेट गरेका छन् ।
बालकोटस्थित ओलीको निवासमा शुक्रवार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म भएको लामो छलफलमा पदीय बाँडफाँड मिलाउन गठित कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छनौट लगायतका विषयमा कुराकानी भएको थियो ।
छलफल सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको नेताका सहयोगीहरुले जानकारी दिएका छन् । शनिबार थप छलफल गरेर आईतबार ९पर्सि० एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको प्रचण्डका सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए । नियमित स्वास्थ्य जाँच गराइ अध्यक्ष ओली बिहीवार मात्र थाइल्याण्डबाट स्वदेश फर्केका थिए ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुई अध्यक्षबीचको वार्तामा एमाले नेता सुवास नेम्वाङ नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमति भएको छ । दुई वाम पार्टीबीच राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने सहमति भइसकेको छ । जसअनुसार एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिँदैछन् ।
त्यस्तै, ७ वटा प्रदेशमध्ये ६ प्रदेशमा बहुमत पाएको वाम गठबन्धनले त्यहाँका मुख्यमन्त्री र प्रदेशसभा प्रमुख लगायतका पदसमेत निर्वाचनमा प्राप्त मत र योग्यता(क्षमताका आधारमा बाँडफाँड गर्ने सहमति गरेका छन् ।
त्यसैगरि, पार्टी एकताबारेमा दुई अध्यक्षबीच फेरि एकल वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठकले त्यसलाई अघि बढाउनेवारेमा छलफल भएको छ । त्यस अनुसार, भोलि शनिवार पुन दुई अध्यक्षबीच वार्ता हुने र त्यसपछि आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।
त्यसबाहेक प्रदेशका अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको बारेमा समेत उनीहरुबीच छलफल भएको छ । अहिले अस्थायी केन्द्रमात्र तोकिएको र प्रदेशसभाले स्थायी केन्द्रको निर्णय लिने भएकाले उक्त मुद्दालाई प्रदेशसभाले टुंग्याउनुपर्ने बारेमा दुई नेताबीच समझदारी भएको छ । त्यसैगरी प्रदेश प्रमुखको सन्दर्भमा भने उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताईएको छ । नेपालपाटी
प्रतिक्रिया दिनुहोस्