Banner News

अस्थायी मुकामको विरोधमा भक्तपुरमा सामूहिक पुत्ला दहन



भक्तपुर,६ माघ । प्रदेश नम्बर ३ को अस्थायी मुकाम भक्तपुरको सट्टा हेटौडा तोकेको विरुद्धमा यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधनमन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान विजुच्छेको सामूहिक पुत्ला दहन गरिएको छ ।

विभिन्न दलका स्थानीय राजनीतिक नेता, कार्यकर्ता, बुद्धिजिवी तथा नागरिक समाजको सक्रियतामा सरकारले प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौडा तोकेको विरोधमा आज पुत्ला दहन गरेका हुन् ।

अस्थायी मुकाम तोकिएको विरुद्धमा आन्दोलन नगर्ने नीति पार्टीले लिएतापनि शान्तिपूर्ण रुपमा सरकारको निर्णयका विरुद्धमा धर्ना गरिएको नेकपा एमालेका नेता तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित सांसद महेश बस्नेतले बताए ।
उनले भने,‘निहित राजनीतिक स्वार्थका निम्ति प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र नेमकिपा अध्यक्ष विजुच्छेको षडयन्त्रमूलक गतिविधिबाट भक्तपुरमा कायम हुन लागेको राजधानीलाई हेटौडा लगिएको छ ।’ भूगोल र भौतिक संरचनाको दृष्टिकोणले समेत प्रदेश नम्बर ३ को राजधानी भक्तपुर नै हुनुपर्ने धारणा राख्दै बस्नेतले भक्तपुर ३ नम्बर प्रदेशको राजधानी हुन नसक्ने प्राविधिक कारणको औचित्य पुष्टी गर्न समेत सरकारलाई चुनौती दिए ।
यदि साँचो अर्थमा भक्तपुरप्रति आस्था र विश्वास छ भने नेमकिपा अध्यक्ष नारायणमान विजुच्छेले भक्तपुर राजाधानी हुन नसक्ने औचित्य पुष्टी गर्नु जरुरी भएको बताउँदै बस्नेतले भने, ‘विजुच्छे जी तपाई यदि भक्तपुरलाई माया गर्नुहुन्छ भने भोलि हुने विरोध कार्यक्रममा सहभागी हुन हामी आव्हान गर्छौ ।’ बस्नेतले भक्तपुरलाई प्रदेशको राजधानी नबनाउने र अन्दोलनमा नलाग्ने पात्र इतिहासमा कुपात्र हुने तर्क गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाल्रे काँग्रेस सभापति दुर्लभ थापा घर अगाडिको आन्दोलनमा सहभागी नभएकोमा आक्रोश पोख्दै भने, ‘प्रदेशको राजधानी बन्न लाग्दा सामाजिक सञ्जालमा बधाई खान हतारिनुभयो, अहिले हेटौंडा पुग्दा किन मौन हुनहुन्छ रु’ उनले आफ्नो पार्टीको सरकारविरुद्ध बोल्ने हिम्मत नगरे भक्तपुरमा काँग्रेस समाप्त हुने चेतावनी दिँदै भने,‘राजधानी त भक्तपुरमा त आउँछ आउँछ ।’
यसैबीच जिल्ला समन्वय समिति भक्तपुरले समेत ३ नम्बर प्रदेशको राजधानी भक्तपुरलाई तोक्न प्रदेशका सभा सद्स्यहरुलाई सपथ ग्रहणको दिन लिखित पत्र मार्फत माग गरेको छ । जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल प्रदेश सभा सदस्यहरु सशीजंग थापा र राजेन्द्र मान श्रेष्ठले हेटौंडा पुगेर लिखित आग्रह गरेका छन् ।