काठमाण्डौ ९ माघ । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता बुधबारका लागि तोकेको छ । तर, दलहरूले भने सोमबार रातिसम्म राष्ट्रिय सभामा कोको उम्मेदवार हुने भन्ने टुंगो लगाउन सकेका छैनन् ।
आयोगले निर्वाचनको कार्यतालिकाअनुसार राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिरहेका बेला दलहरू आन्तरिक बैठकमा व्यस्त छन् । उनीहरूले छिट्टै आफ्ना दलको उम्मेदवारको टुंगो लाग्ने बताउँदै आएका छन् ।
कांग्रेस नेता बालकृष्ण खाँडले उम्मेदवारका विषयमा छलफल भइरहेको भन्दै मंगलबारसम्म टुंगो लाग्ने बताए । ‘हामी छलफलमा नै छौं, बुधबारसम्म टुंगो लगाउने गरी छलफलमा जुटेका छौं,’ नेता खाँडले राजधानीसँग भने ।
कांग्रेसले बालुवाटारमा शनिबारदेखि नै उम्मेदवार चयनका विषयमा छलफल गरिरहेको छ । सोमबारसमेत सो विषयमा छलफल भएको र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेल गर्ने सम्बन्धमा समेत कुराकानी भएको खाँडले बताए ।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले भने केही दिनअघि नै राष्ट्रिय सभाका लागि सिट बाँडफाँट गरिसकेका छन् । जसअनुसार २९ सिट एमाले, १४ सिट माओवादी र अन्य १३ सिट भने अन्य दलका लागि छुट्ट्याएको छ । तर, भागबन्डाअनुसार सिटमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो भने लगाउन सकेका छैनन् ।माओवादी केन्द्रले मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकले उम्मेदवारको नामका विषयमा निर्णय लिने माओवादी नेता मातृका यावले जानकारी दिए ।एमालेले सो विषयमा छलफल गर्न सोमबार नै पार्टीको स्थायी समिति बैठक बसेको छ तर उम्मेदवारको नाम भने मंगलबारसम्म तय हुने बताइएको छ ।
आयोगले बुधबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सकिने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले तयारी तीव्र बनाएको भन्दै दलहरूले तोकिएको समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने बताए ।
‘हरेक प्रदेशमा निर्वाचन कार्यालय स्थापना भइसकेका छन्, उम्मेदवारहरूले आफ्नो सम्बन्धित प्रदेशमा नै तोकिएको समयमा मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ,’ प्रवक्ता ढकालले भने ।
आयोगले सातै प्रदेशका उच्च अदालत रहेकै स्थानमा यसअघि नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । कानुनअनुसार ५९ सदस्यीय राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट आठ÷आठ जनाका दरले ५६ जना र तीन जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार ५६ जनाले मतदान गर्नेछन् ।
एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट हुने राष्ट्रिय सभा निर्वाचनका लागि खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपांग तथा अल्पसंख्यक १४ जना बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् ।राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्