Banner News

देउवा सरकारलाई एमालेको चेतावनी , अनुचित र अनैतिक गतिविधि तत्काल बन्द गर



काठमाण्डौ ११ माघ । नेकपा एमालेले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुचित र अनैतिक गतिविधि तत्काल बन्द गर्न सचेत गराएको छ । उसले राष्ट्रलाई दीर्घकालीन हानि पु¥याउने कुनै पनि निर्णय नगर्न चेतावनीसमेत दिएको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकारात्मक प्रभाव पार्ने गरी निर्णय गरिरहेको भन्दै असन्तुष्टि जनाए । भावी प्रधानमन्त्रीका रूपमा समेत हेरिएका एमाले अध्यक्ष ओलीले अनुचित र अनैतिक गतिविधि तत्काल बन्द गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिँदै सरकारका पछिल्ला निर्णयमाथि नयाँ सरकारले पुनर्विचार गर्ने समेत बताए । ‘संविधान, कानुन र राष्ट्रका हितविपरीत भएका सबै निर्णयलाई अब बन्ने सरकारले अस्वीकार गर्नेछ,’ ओलीले भने । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ भएको सरकारलाई राज्यको दैनन्दिनका र नियमित काम मात्रै गर्ने अख्तियारी प्राप्त रहेको एमालेले जनाएको छ ।

‘सरकारले लोकतन्त्रका आम मूल्य र मर्यादा, अभ्यास र न्यूनतम लोकलाजलाई समेत लत्याउँदै मन्त्रिमण्डल विस्तार, जथाभावी नियुक्ति र सरुवा–बढुवा, राज्यकोषबाट करोडौं रकम वितरण जस्ता निर्वाचनलाई प्रभावित पार्ने काम गर्दै आयो,’ एमालेले जारी गरकोे विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुरुदेखि नै आपत्ति जनाउँदै आएका छौं, निर्वाचन आचारसंहिताको नांगो उल्लंघन र राज्यसंयन्त्रको चरम दुरुपयोगका बाबजुद निर्वाचनमा पराजित भएको नेपाली कांग्रेस नेतृत्वको यो सरकार राष्ट्रिय सभा निर्वाचनमा पनि यसैगरी राज्यसंयन्त्रको दुरुपयोग गर्न लागिपरेको छ ।’

कांग्रेस र सरकारको मुख्य उद्देश्य नै सकेसम्म वाम गठबन्धनलाई सरकार गठन गर्नबाट रोक्ने र त्यसो गर्न नसके देशको समग्र अर्थतन्त्र, शासन संयन्त्र र व्यवस्थालाई नै अराजक, संकटग्रस्त र भताभुंग पार्ने गरी अगाडि बढिरहेको गम्भीर आरोप पनि एमालेले लगाएको छ ।
संविधानको धारा ११९ को भावनाविपरीत सरकारको वार्षिक नीति र कार्यक्रम तथा बजेटमा समावेश नगरिएका, कुनै जनप्रतिनिधि निकायबाट स्वीकृत नभएका र राज्यलाई साढे ५ खर्बको दायित्व थपिने गरी अन्धाधुन्ध नयाँ कार्यक्रम थप गर्ने कुराले वर्तमान सरकार वित्तीय अराजकता सिर्जना गर्न उद्यत भएको स्पष्ट देखिएको एमालेले जनाएको छ ।
सरकारले बिनामापदण्ड र परिभाषा राज्यकोषबाट आफू निकटका मान्छेलाई अन्धाधुन्ध रकम बाँडिरहेको आरोप पनि एमालेले लगाएको छ । ‘एकातिर तीन तहको निर्वाचनका लागि भएको ठूलो प्रशासनिक व्ययभारका कारण राज्यको सञ्चित कोषमाथि ठूलो दबाब परिरहेको छ भने अर्कातिर पुँजीगत खर्चको अवस्था निकै दयनीय रहेको अवस्थामा आफू निकटका व्यक्तिहरूको चाहना पूर्तिका लागि राज्यकोषको दुरूपयोग सरकारले गरिरहेको छ,’ एमालेले भनेको छ ।
‘सरकारले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर हद घटाएको समाचार सार्वजनिक भएको छ, विगतमा सामाजिक सुरक्षाको विषय लागू गर्न खोज्दा ‘कनिका छरेको’ र ‘ढुकुटी रित्याएको’ जस्ता लाञ्छना लगाउने नेपाली कांग्रेस नेतृत्वको यो कदम ज्येष्ठ नागरिकहरूको सम्मान र सामाजिक सुरक्षाको दायरा बढाउने कुरामा होइन, सस्तो लोकप्रियताका लागि गैरजिम्मेवारपूर्ण ढंगले गरिएको निर्णयका रूपमा रहेको छ,’ एमालेले जनाएको छ । एमालेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा माथिल्लो तहमा नयाँ दरबन्दी सिर्जना गर्ने अनावश्यक काम बदनियतपूर्ण ढंगले भएको जनाएको छ । संघीय संरचना कार्यान्वयनको चरणमा रहेको वर्तमान अवस्था र नयाँ राष्ट्रिय सुरक्षा नीति लागू हुन लागिरहेको परिप्रेक्ष्यमा ती व्यवस्थालाई लत्याउँदै सीमित स्वार्थ समूहको हितमा गर्न लागिरहेको सरकारको निर्णयले संगठनको वर्तमान संरचनालाई भित्रैदेखि समस्याग्रस्त तुल्याउने निश्चित रहेको एमालेले स्पष्ट पारेको छ ।राजधानीमा समाचार छ ।