सम्पादकीय

एमाले स्थायी कमिटी बैठक , मुख्यमन्त्री छान्न निर्वाचन



काठमाण्डौ १७ माघ । मुख्यमन्त्रीका आकांक्षी बढेपछि एमालेले प्रदेश संसदीय दलको नेता चयनको जिम्मा प्रदेश संसदीय दललाई दिएको छ । प्रदेश मुख्यमन्त्री प्रदेश संसदीय दलको नेता हुने भएकाले आकांक्षीको व्यवस्थापन गर्न नसकेपछि नेता चयन सर्वसम्मत हुन नसकेको हो ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले प्रदेशसभा संसदीय दलको नेता छान्ने अधिकार सम्बन्धित प्रदेशमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई दिएको सचिव प्रदीप ज्ञवालीले बताए ।

पार्टीको यो निर्णयसँगै प्रदेश ५ बाहेकमा संसदीय दलको नेता चयन प्रतिस्पर्धाबाट हुने भएको छ । सो प्रदेशमा भने यसअघि नै शंकर पोखरेल संसदीय दलको नेता चुनिइसकेका छन् ।

पार्टीले व्यक्तिबारे निर्णय लिन नसकेपछि अब सबै प्रदेशमा निर्वाचन प्रक्रियाबाट दलको नेता चुनिनेछन् । एउटा प्रदेशमा एकभन्दा बढी आकांक्षी देखिएका कारण सर्वसम्मत संसदीय दलको नेता चयनको सम्भावना टरेको हो ।

स्थायी समिति बैठकमा प्रदेशसभा संसदीय दलको नेता कसलाई बनाउने भन्ने विवाद भएपछि चयनको जिम्मा सम्बन्धित प्रदेश संसदीय दललाई दिइएको हो ।

पार्टीको यो निर्णयसँगै अब सम्बन्धित प्रदेशसभाका सांसदले तीन सदस्यीय निर्वाचन समिति गठन गरी प्रदेशसभा संसदीय दलको नेता छान्ने प्रक्रिया अघि बढाउनेछन् । सो प्रक्रियामा एकभन्दा बढी आकांक्षी देखिए निर्वाचन हुने एमालेको भनाइ छ ।

‘सबै प्रदेशसभाले आ–आफ्नो प्रदेशसभा संसदीय दलको नेता छान्नेछन्, सर्वसम्मतको प्रयास गर्ने नभए गोप्य मतदानद्वारा निर्णय हुनेछ,’ सचिव ज्ञवालीले भने, ‘ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दलको नेता चयनसम्बन्धी विधि र प्रक्रिया तय गर्नेछ ।’

प्रदेशसभा संसदीय दलको नेता छान्न सोही प्रदेशसभा संसदीय दलको बैठकबाट तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिने उनले बताए । पहिलो बैठक सो प्रदेशका ज्येष्ठ सांसदले अध्यक्षता गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा संसदीय दलको नेताका लागि एकभन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानद्वारा निर्णय गरिनेछ ।

सातै प्रदेशका प्रदेश प्रमुखहरूबाट प्रदेशसभाको पहिलो बैठक आह्वान भइसकेको छ । प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने अधिकार बैठकले दिएको हो ।

‘प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशमा २४ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएलगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दलको नेता चयन गर्नेछ,’ बैठकपछि स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङले भने । दलको नेता वा सभामुखको निर्वाचनलगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्न बैठकले आफ्ना सांसदलाई निर्देशनसमेत दिएको छ

एमालेले प्रदेश संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । दलको नेता मुख्यमन्त्री बन्ने र मुख्यमन्त्रीका आकांक्षी बढेपछि एमालेले प्रदेश संसदीय दललाई नेता चयनको अधिकार दिएको हो
एमाले र माओवादी केन्द्रको वाम गठबन्धन कार्यदलले यसअघि नै ६ वटै प्रदेशको मुख्यमन्त्री, सभामुख एवं उपसभामुखको भागबन्डा गरिसकेको छ । भागबन्डाअनुसार प्रदेश १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ । प्रदेश ६ र ७ का दलको नेता भने मुख्यमन्त्री बन्न पाउनेछैनन् । किनभने यी दुई प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ । बाँकी प्रदेशमा स्थायी कमिटी निर्णयअनुसार छान्न बाँकी रहेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको दाबी छ । यी दुईमध्ये एक जना प्रदेशसभा संसदीय दलको नेता बन्नेछन् ।
प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्ने सम्भावना छ । तर, प्रदेश ३ मा पोलिटब्युरो सदस्यत्रय राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपालका साथै काठमाडौंका पूर्वमेयर केशव स्थापितले समेत दाबी गरिरहेका छन् । प्रदेश ४ को प्रदेशसभा संसदीय दलको नेतामा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटीका सदस्य किरण गुरुङले दाबी गर्दै आएका छन् । यी दुईमध्ये एक जना प्रदेश ४ को मुख्यमन्त्री बन्नेछन् ।राजधानीमा समाचार छ ।