सम्पादकीय

प्रदेश ३ प्रदेशसभा अधिवेशन आज , प्रदेश प्रमुख नजाने



हेटौडा १८ माघ । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन बिहीबार आज अस्थायी राजधानी हेटौंडामा बस्दै छ । अधिवेशनका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालय भवनको अधिवेशन कक्षदेखि मूल गेटसम्म सजाइएको छ । अधिवेशन स्थल वरपरसम्म सरसफाइ गरिएको छ भने अधिवेशन कक्षमा रंगरोगन गरिएको छ । तर सरसफाइ र सजावटको काम साँझसम्म भइरहेको छ ।

पहिलो अधिवेशनको तयारी पूरा भएको प्रदेशसभा सञ्चालनको जिम्मा पाएका संघीय संसद्का सहसचिव डा। रोजनाथ पाण्डेले बताए । उनले अधिवेशन सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्तिदेखि सुरक्षाकर्मीको समेत तयारी भइसकेको बताए ।

तयारी पूरा भएपछि बुधबार सभामुखको भूमिका निर्वाह गर्ने ज्येष्ठ सदस्य डोरमणि पौडेल, सहभागी सांसद, कर्मचारी र सुरक्षाकर्मीले संसद् सञ्चालनको अभ्याससमेत गरे । सभामुख आसनको पश्चिमतर्फ सांसदलाई बस्ने व्यवस्था गरिएको छ ।

पहिलो अधिवेशनमा प्रदेश प्रमुखले संसद् अधिवेशनका लागि आह्वान गरेको पत्र पढ्ने, प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्ने र प्रदेश सभामुख निर्वाचनको मिति घोषणा गर्नेलगायतका एजेन्डा छन् ।

यस्तो छ कार्यसूची
प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने
प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्न प्रदेश सभामुख/उपसभामुख निर्वाचनको मिति घोषणा गर्ने
अधिवेशनमा प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थिति नहुने प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए । उनका अनुसार प्रदेश प्रमुख सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मात्र सहभागी हुने उनले बताए । अधिवेशनमा अन्य विशिष्ट व्यक्तिको सहभागिता हुने या नहुने यकिन भइसकेको छैन ।

अधिवेशनका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी व्यवस्थित बनाइएको संसद् सचिवालयका सचिव पाण्डेले जानकारी दिए । प्रदेश सभामुखको आसन, सांसद बस्ने स्थान, मर्यादापालक रहने घेरा र सञ्चारकर्मी बस्ने स्थानसम्मको व्यवस्थापन भइसकेको उनले बताए । अधिवेशनमा ३० जना मर्यादापालक रहनेछन् भने अधिवेशन स्थलबाहिर जनपथ र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् ।

अधिवेशनका लागि सभामुखको कार्यकक्ष, सचिवको कार्यकक्षका साथै स्वास्थ्य इकाइको पनि व्यवस्थापन भइसकेको पाण्डेले जानकारी दिए । अधिवेशनका लागि सांसदहरू हेटौंडा आउने क्रम जारी छ । प्रदेशमा ११० जना सांसद छन् ।

बिहीबार दिउँसो १ बजेदेखि सञ्चालन हुने अधिवेशनमा २० जना सञ्चारकर्मीलाई मात्र अधिवेशन कक्षमा प्रवेश दिइने सचिवालयले जनाएको छ । सचिवालयका सचिव पाण्डेका अनुसार अधिवेशन कक्ष साँघुरो भएकाले सबैलाई प्रवेश गराउन नसकिने भएको हो । कोटाभन्दा बढी पत्रकारलाई अधिवेशन कक्षको बाहिर नै रिर्पोटिङको व्यवस्था सचिवलयले गर्ने उनले जानकारी दिए ।राजधानीमा समाचार छ ।