शैक्षिक



भक्तपुर जोड्ने दुईवटा सुरुङ मार्ग निर्माण हुने

 

भक्तपुर, १५ माघ । काठमाण्डौ, भक्तपुरहुँदै काभ्रेको धुलिखेल जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित गर्नको निम्ति भक्तपुरको पलाँसेबाट साँगा भन्ज्याङ जोड्ने करिब डेढ किलोमिटर सुरुङ मार्ग निर्माण हुने भएको छ । यसैगरी तीनकुने एयरपोर्ट मुनिबाट जडिबुडी जोड्ने सुरुङमार्ग निर्माण कार्य पनि छिट्टै सुरु हुने भएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्तेनको नेतृत्वमा भक्तपुरका निर्वाचित प्रदेश सभाका सांसद तथा नगरपालिकाका प्रमुख एवं वडा अध्यक्ष सहितको प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा सडक विभाग वैदेशिक महाशाखाका उप महानिर्देशक सञ्जयकुमार श्रेष्ठले आगामी नोभेम्बरभित्रमा यी दुवै सुरुङमार्ग निर्माण कार्य सुरु हुने जानकारी दिए । उनले भने,‘सुरुङ निर्माण कार्यको प्राविधिक अध्ययन सर्वेक्षण अन्तिम चरणमा पुगेको छ, अब छिट्टै काम सुरु हुन्छ ।’

यी दुवै सुरुङ मार्ग निर्माण गर्न आवश्यक लागतका निम्ति जापानी अन्तर्राष्ट्रिय सहयोगी संस्था ९जाइका० मार्फत सहुलियत ऋण उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको श्रेष्ठले जानकारी दिए । कोटेश्वरदेखि धूलिखेलसम्मको सडक व्यवस्थापन गर्नको निम्ति आवश्यक प्राविधिक सर्वेक्षण सम्पन्न भइसकेको अवस्थामा सडक व्यवस्थापनका लागि गर्नुपर्ने आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा सुरुङ मार्ग प्रक्रिया अगाडि बढेको हो ।

छलफल कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले कोटेश्वर मुनिभैरवदेखि एयरपोर्टमुनि हुँदै पेप्सीकोलासम्म वैकल्पिक सुरुङ मार्ग बनाउनुको कुनै विकल्प नभएको बताए । उनले भने, ‘प्राविधिक अध्ययन प्रतिवेदनले पनि उक्त क्षेत्रमा वैकल्पिक सुरुङ मार्ग बनाउन सकिने प्रतिवेदन प्रस्तुत गरेको छ, जसलाई व्यवहारमा रुपान्तरण गर्नु आवश्यक छ ।’

राजधानीबाट भक्तपुर हुँदै पूर्वी जिल्लामा जाने यातायातको व्यवस्थापनको निम्ति पनि अब वैकल्पिक मार्ग बनाउनु जरुरी भएको बताउँदै बस्नेतले सुरुङ मार्ग आधुनिक र भरपर्दो विकल्प भएको बताए । कार्यक्रममा उपत्यका ट्राफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले अहिले तत्काल उपत्यकाको सडक यातायात व्यवस्थापन गर्न चुनौती खडा भएको अवस्थामा वैकल्पिक सुरुङ मार्ग निर्माण गर्नु अपरिहार्य भएको बताए ।

उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य शशिजंग थापा तथा राजेन्द्रमान श्रेष्ठले भौतिक पूर्वाधाहरुको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।