Banner News

भट्ट प्रदेश ७ को मुख्यमन्त्री सिफारिस



धनगढी २० माघ । प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले डोटीको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । यो प्रदेशमा मुख्यमन्त्री बाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको थियो । सोही अनुरुप माओवादी केन्द्रको ७ नम्बर प्रदेश कार्यालयले शुक्रबार प्रदेश सांसद भट्टलाई मुख्यमन्त्रीका लागि केन्द्रमा सिफारिस गरेको हो ।

माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा सचिवालय सदस्य लेखराज भट्ट, प्रदेश संयोजक लक्ष्मणदत्त जोशीसहितको प्रदेश कार्यालयले भट्टको नाम सिफारिस गरेको जनाइएको छ ।

प्रदेश इन्चार्ज भट्टले प्रदेश कार्यालयको बैठकले मुख्यमन्त्रीबारे सिफारिस गरेको बताए । ‘हामीले प्रदेशको मुख्यमन्त्रीका लागि त्रिलोचनजीको नाम केन्द्रमा सिफारिस गरेका छौं,’ इन्चार्ज भट्टले भने, ‘ मुख्यमन्त्रीबारे भने अन्तिम निर्णय केन्द्रले गर्ने छ ।’

मुख्यमन्त्रीका लागि कैलालीका वीरमान चौधरी, अछामका झपटबहादुर बोहरा, अछामका अक्कल रावलको सँगै भट्टको नाम पनि चर्चामा रहेको थियो ।

यहाँ पहिलो प्रदेशसभाको पहिलो बैठक आइतबार १ बजे नेपाली कांग्रेसतर्फबाट समानुपातिक ज्येष्ठ सांसद दिब्यश्वरी शाहको अध्यक्षतामा बस्ने र ३ फागुनभित्रै मुख्यमन्त्रीको चयन गर्ने तयारी थालिएको ७ नम्बर प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यो प्रदेशमा एमालेका २५ जना, माओवादी केन्द्रका १४ जना, काँग्रेसका १२ जना र राष्ट्रिय जनता पार्टीका दुई जना गरी ५३ जना सांसद रहेका छन् । प्रदेश सांसद रहेका छन् ।

को हुन् भट्ट 

मुख्यमन्त्रीका लागि माओवादी केन्द्रको ७ नम्बर प्रदेश कार्यालयबाट सिफारिस गरिएका ४८ वर्षीय सांसद भट्टले २०४७ सालदेखि माओवादी राजनीतिक यात्रा शुरु गरेका थिए । भारतमा रहेको बामपन्थी समर्थित अखिल भारत नेपाली एकता समाजबाट राजनीति शुरु गरेका उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला इन्चार्ज रहेका छन् ।

उनी २०६४ र २०७० सालमा डोटीबाट संविधान सभा सदस्य निर्वाचन लडेर पराजित भएका थिए ।राजधानी बाट ।