Banner News

राष्ट्रिय सभा निर्वाचन मौन अवधि सुरु,



काठमाण्डौ २२ माघ । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मतदान सुरु हुनु ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिभित्र राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका पदाधिकार, नागरिक समाज, मतदाताहरूले कुनै पनि प्रकारका निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारमा संलग्न हुन नपाउने जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको र मौन अवधिभित्र निर्वाचन प्रभावित हुने कुनै पनि किसिमका गतिविधि नहुनेमा आयोग ढुक्क रहेको बताए । ‘आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ, यस अवधिलाई सबै जिम्मेवार निकायबाट पालना हुनेमा आयोग ढुक्क छ,’ प्रवक्ता ढकालले राजधानीसँग भने ।

मौन अवधिमा सञ्चार माध्यमहरूले समेत कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा निर्वाचनलाई प्रभाव पार्ने गरी समाचार प्रकाशन तथा प्रसारण, मत सर्वेक्षण र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउनेछैनन् । तर, निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको प्रवक्ता ढकालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता ९चौथो संशोधन २०७४० २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू

निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,

मौन अवधि सुरु हुनुभन्दाअघि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने

एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

भोट हाल्न निर्वाचित प्रमाणपत्र, मतदाता परिचयपत्र वा नागरिकता भए हुने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचक मण्डल ९इलोक्टोरल कलेज० को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगको आइतबार बसेको पदाधिकारी बैठकले स्थानीय तह निर्वाचनमा निर्वाचित उम्मेदवारहरू तथा प्रदेश सांसदहरूलाई आयोगले निर्वाचित घोषणा गरेर दिएको प्रमाणपत्र वा मतदाता नामावली परिचयपत्र वा नागरिकताका आधारमा मतदान गर्न सकिने व्यवस्था गरेको हो ।

आयोगले सोसम्बन्धी आवश्यक व्यवस्था मिलाउन ६ वटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

आयोगले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र कुनै कारणवश हराएको वा नष्ट भए पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मताधिकार सुनिश्चित गर्न आयोगले सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको हो ।राजधानी बाट ।