Banner News

स्थानीय तहमा ३६,६२९ दरबन्दी प्रस्ताव



काठमाण्डौ २३ माघ । संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि ३६ हजार ६२९ जना कर्मचारीको अस्थायी दरबन्दी तयार पारेको छ । मन्त्रालयले स्थानीय तहबाट प्राप्त सुझाव, विज्ञहरूसँगको छलफल र कामको चापलाई समेत विश्लेषण गर्दै तयार पारेको प्रतिवेदनमा कुल ७५३ स्थानीय तहका लागि सो संख्यामा अस्थायी दरबन्दी तयार पारेको हो ।

स्थानीय विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पठाउने तयारी गरिरहेको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए । उनका अनुसार प्रस्तावित सो प्रतिवेदन मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै लागू हुने भएकाले अहिले यो प्रस्तावित मात्रै रहेको बताए ।

यो अस्थायी दरबन्दी भएकाले यसलाई समयअनुसार मन्त्रिपरिषद्ले थपघट गर्न सकिने भए पनि अहिलेलाई अस्थायी प्रकृतिको दरबन्दी तय भएको मन्त्रालयले जनाएको छ । सामान्यतया मन्त्रालयले पठाएको प्रस्तावमा हेरफेर नगरिने भए पनि सो प्रतिवेदनलाई आवश्यक देखेमा मुख्य सचिवले संशोधन गरेर मन्त्रिपरिषद्मा पठाउन सक्ने अधिकार रहन्छ ।

अहिले स्थानीय तहमा १७ हजार २०९ जना कर्मचारी कार्यरत रहेको तथ्यांक स्थानीय विकास मन्त्रालयसँग छ । यो संख्यामा तत्काल स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने तत्कालका लागि १९ हजार ४२० कर्मचारीलाई स्थानीय तहमा पठाउनुपर्ने आवश्यकता भएको प्रतिवेदनले देखाएको छ । संघीय सरकारका तर्फबाट मन्त्रालयले तयार पारेको स्थानीय कर्मचारीको अस्थायी दरबन्दी समिटिएको स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था २०७४ मा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई समेत दुई–दुई भागमा विभाजन गरेर दरबन्दी तयार पारिएको हो ।

मन्त्रालयले गाउँपालिकालाई २० हजारसम्म जनसंख्या भएको र २० हजारभन्दा बढी जनसंख्या भएको, नगरपालिकालाई १ लाखसम्म जनसंख्या भएको र १ लाखभन्दा बढी जनसंख्या रहेको गरी दुई भागमा विभाजन गरिएको छ । त्यस्तै, महानगरपालिकालाई संघीय राजधानी रहेको र संघीय राजधानी नरहेको नगरपालिका गरी दुई भागमा विभाजन गरिएको छ ।

कहा“ कति दरबन्दी 
२० हजारसम्म जनसंख्या भएका २२४ गाउँपालिका ६,७५६

२० हजार बढी जनसंख्या भएका २३६ गाउँपालिका ८,९७०

१ लाखसम्म जनसंख्या भएका २७० नगरपालिका १६,२५४

उपमहानगरपालिका र लाख बढी जनसंख्या भएका १७ नगरपालिका २,७२०

संघीय राजधानीबाहेकका ५ महानगरपालिकामा १,५६९

काठमाडौं महानगरपालिका ३६०

जम्मा ३६,६२९

प्रस्तावित दरबन्दीअनुसार २० हजारसम्म जनसंख्या रहेको गाउँपालिकामा शाखा अधिकृतको नेतृत्वमा प्राविधिक र प्रशासनका गरी १७ जना कर्मचारी रहनेछन् र सो गाउँपालिकाको वडा कार्यालयमा प्राविधिक र प्रशासन एक–एक जना कर्मचारी रहनेगरी दरबन्दी सिर्जना गरिएको छ ।
त्यस्तै, २० हजारभन्दा बढी जनसंख्या भएका गाउँपालिकामा उपसचिवको नेतृत्वमा २३ जना प्राविधिक र प्रशासनका कर्मचारीको दरबन्दी तय भएको छ भने ती तहका वडा कार्यालयमा एक जना प्राविधिक र एक जना प्रशासनका कर्मचारीको दरबन्दी तय भएको छ । मन्त्रालयका अनुसार २० हजारसम्म जनसंख्या रहेका २२४ गाउँपालिकाका लागि ६ हजार ७५६ जना कर्मचारी आवश्यक पर्छ । २० हजारभन्दा बढी जनसंख्या रहेका २३६ गाउँपालिकामा १६ हजार २५४ कर्मचारी प्रस्ताव गरिएको छ ।
त्यस्तै, मन्त्रालयले १ लाखसम्मको जनसंख्या भएका २७० नगरपालिकामा उपसचिवको नेतृत्वमा ३८ जना कर्मचारी नगरपालिका कार्यालयमा र वडामा एक जना प्रशासन र एकजना प्राविधिक गरी दुई जनाको दरबन्दीसहित कुल १६ हजार २५४ दरबन्दी प्रस्ताव गरिएको छ ।
उपमहानगरपालिका र लाखभन्दा बढी जनसंख्या भएका १७ नगरपालिकामा सहसचिवको नेतृत्वमा नगरपालिकाको कार्यालयमा कुल ८४ जना र नगरपालिकाका वडामा चार–चार जना गरी कुल २ हजार ७२० कर्मचारी प्रस्ताव गरिएको छ ।
अस्थायी राजधानी रहेको बाहेकका महानगरपालिकाका लागि कुल ११५ कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ । महानगरपालिकाका वडामा सात जनाको दरमा दरबन्दी प्रस्ताव भएको छ । ५ महानगरपालिका कार्यालयमा ११५ जनाको दरमा जम्मा ५७५ जना र वडामा ९९४ सहित कुल १ हजार ५६९ दरबन्दी प्रस्ताव गरिएको छ ।
संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका कार्यालयमा सचिवको नेतृत्वमा १३६, ३२ वडा कार्यालयमा सात जनाका दरले २२५ गरी कुल ३६० जना कर्मचारीको अस्थायी दरबन्दी प्रस्ताव गरिएको छ ।राजधानीमा समाचार छ ।