काठमाडौ,२३ माघ। प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी ओली ‘ब्याक’ भएको माओवादी नेताहरुले बताएका छन् ।
पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाए ।
‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ दुई पार्टीवीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले अनलाइनखबरसँग भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ ।’
ओलीले जबजको लाइनमा पनि अडान यथावत राख्ने बताएपछि आफूहरु आश्चर्यमा परेको एक माओवादी नेताले बताए ।
राष्ट्रपतिले भनिन्( एकजना प्रधानमन्त्री, अर्को अध्यक्ष बन्नोस्
यसैवीच भारतीय विदेशमन्त्री सुष्मा स्वराज दिल्ली फर्किएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा केपी ओली र प्रचण्डसँग ‘लञ्च’ सहित छलफल गरिन् ।
आइतबारको यो छलफलमा राष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद बाँडफाँट गरेर भए पनि मिल्न प्रचण्ड र ओलीलाई आग्रह गरेकी थिइन् । तर, ओलीले यो प्रस्ताव अस्वीकार गरेको माओवादी स्रोतले जानकारी दियो ।
माओवादी स्रोतले भन्यो, ‘राष्ट्रपति पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिएर भए पनि वाम एकता गर्नुपर्यो भन्ने लाइनमा देखिनुभयो । तर ओलीजी आगामी महाधिवेशनबाट मात्रै जिम्मेवारी हस्तान्तरण गन तयार देखिनुभयो ।’
स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रचण्डलाई सहअध्यक्षमा मनाउन प्रयासरत छन् ।
एमाले र माओवादीले प्रदेश र प्रतिनिधिसभाको टिकट भागवण्डा गर्दा ६०र४० को मापदण्ड लगाएका थिए । चुनावी परीणाममा झण्डै ७०र३० देखिएको छ ।
चुनावी मत अनुसार पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिन नहुने मत एमालेमा देखिएको छ ।
माओवादी नेताहरुले चाहिँ अध्यक्ष र प्रधानमन्त्रीबारे यसअघि नै सहमति भइसकेको र एमालेले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने अडान लिइरहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा केपी ओली र प्रचण्डले भागवण्डाको सहमति गर्नुबाहेक अर्को विकल्प नरहेको माओवादीको तर्क छ ।
एमालेभित्र प्रचण्डलाई सहअध्यक्ष बनाउने वा प्रचण्डलाई अध्यक्ष बनाएर केपी ओलीलाई सर्वोच्च नेता बनाउने वा माधव नेपाल र प्रचण्ड दुबैलाई अध्यक्ष बनाउने विकल्पका विषयमा समेत कुराकानी भइरहेको स्रोतले बतायो ।
चुनावअघि प्रचण्डलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद दिन्छु भनेर फकाएको तर, चुनावपछि अध्यक्ष बनाउन अन्कनाउँदा पार्टी एकता अनिश्चित बनेको माओवादी नेताको गुनासो छ । अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्