Banner News

ओली–दाहाल सहमति सरकार गठनपछि पार्टी एकता



काठमाण्डौ २६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकार गठनपछि पार्टी एकता गर्ने सहमति भएको छ । ललितपुरस्थित एक व्यवसायीको घरमा बिहीबार बसेको गोप्य बैठकमा उनीहरू सरकार गठनपछि पार्टी एकता गर्ने विषयमा सहमति भएका हुन् ।

करिब तीन घण्टा चलेको गोप्य वार्तामा ओली र दाहालले सरकार गठनअघि नै पार्टी एकताको खाका तय गर्ने सहमितिसमेत गरेका छन् । पार्टी एकता नगरी सरकार गठन गर्दा एकता हुने या नहुने भन्ने विषयमा शंका उत्पन्न हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार गठनअघि नै पार्टी एकताको खाका तय हुनुपर्ने प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावपछि ओलीले शुक्रबार संयोजन समितिको बैठक बोलाएर छलफल गर्ने र समितिले खाका तयार पार्ने विकल्प अघि सारेपछि दाहाल त्यसमा सहमत भएका हुन् ।

एमालेका एक नेताका अनुसार ओली र दाहालबीच सरकार निर्माण र पार्टी एकताका विषयमा गोप्य छलफल भएको हो । पछिल्लो समय पार्टी एकताका विषयमा फरक विचार बाहिर आएको भन्दै दुवै नेताले गठबन्धन बन्दा निर्वाचनमा पुगेको फाइदालाई मध्यनजर गरेर यसलाई दिगो बनाउन दुवै दल गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

दुवै नेताले सरकार निर्माण गर्दा कुन पार्टीको कति जना मन्त्री बनाउने भन्ने विषयमा पनि संयोजन समितिमा छलफल गरेर टुंगोमा पुग्ने सहमति गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै अब बन्ने सरकार र एकीकृत पार्टीको मोडालिटीका विषयमा थप छलफल गर्न एकता संयोजन समितिको बैठक बस्नुपर्ने अध्यक्षद्वयको निष्कर्ष छ ।

एमाले सरकार निर्माणपछि पार्टी एकता गर्नुपर्ने पक्षमा छ । पहिला सरकार गठन गरेर मात्रै पार्टी एकता गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिएका छन् । तर, माओवादीले सरकार निर्माणसँगै पार्टी एकता प्रक्रिया पनि अघि बढाउनुपर्नेमा जोड गरिरहेको छ ।

पार्टी एकता सरकार गठनअघि सम्भव नभए पनि पार्टी एकताको खाका पहिला नै तयार गर्नुपर्ने अध्यक्ष दाहालले प्रस्ताव गरेपछि ओली त्यसमा सहमत भएका हुन् ।

नयाँ बन्ने सरकारको प्रधानमन्त्रीका साथै एकीकृत पार्टी अध्यक्ष पनि ओली आफैं हुन खोजेका छन् । तर, माओवादीले प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्षमा रोजेर एक लिनुपर्ने र छोडेको पद आफूले पाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएको छ ।

पार्टी एकतापछि सरकारको नेतृत्व गर्ने नेताले पार्टीको नेतृत्व अर्कोलाई दिनुपर्ने माओवादीको मागका विषयमा पनि ओली केही लचक भएको दाहालको सचिवालय स्रोतले जनाएको छ । आआफ्नो अडानमै रहिरहने हो भने पार्टी एकता सम्भव नहुने भन्दै दुवै नेताले सरकार गठन र पार्टी एकता प्रक्रिया टुंगोमा पु(याउने विषयमा थप छलफल गर्न संयोजन समितिलाई जिम्मा दिने सहमति गरेका हुन् ।

दुवै नेता संयोजन समितिले तयार पारेको मोडालिटीमा आफू सहमत हुने जनाएपछि सरकार गठनअघि नै एकताको खाका तयार पार्न संयोजन समिति बैठक शुक्रबार बस्ने माओवादी केन्द्रका नेता मातृका यादवले बताए ।

पार्टी एकता प्रक्रिया जटिल समयमा पुगेको विश्लेषण भइरहेका बेला संयोजन समितिको बैठकले थप निर्णय गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन् । एमाले र माओवादी केन्द्रका नेताले पार्टी एकता हुने बताइरहँदा नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने खाका बन्न सकेको छैन । पार्टी एकताको खाका बनेपछि सरकार गठनका लागि दुवै दलले संसदीय दलको नेता छनोटको आन्तरिक गृहकार्य गर्नेछन् ।राजधानीमा समाचार छ ।